• १५ चैत २०८०, बिहिबार

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २१ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । 

जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका गएको थियो । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण मंगलबार दक्षिण अफ्रिका भ्रमणमा समावेश गरिएको थिएन ।

अदालतमा सन्दीपको मुद्दा पेसी असार २९ गतेसम्म सरेकोले सन्दीपलाई सोमबारसम्म दक्षिण अफ्रिका पठाउने तयारी गरिएको क्यानले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक मोन्टी देसाई पनि जानुभएको छैन । अमेरिकामा रहनुभएका देसाईको त्यहाँबाट भिसा नलागेपछि भारतबाट भिषा प्रक्रिया पूरा गरेर अफ्रिका जान लागेको क्यानले जनाएको छ । 

जिम्बाबेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरेको हो । दक्षिण अफ्रिकामा नेपालले अभ्यास खेल समेत खेल्नेछ । 

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २०७९ पुस २८ गते  उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले  सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले  सन्दीपलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा  २०७९ भदौ २१ गरे बलात्कारको जाहेरी दिएकी थिइन् ।