• १२ पुस २०८१, शुक्रबार

टौदह (यात्रा)

blog

पूर्णिमा अर्याल

कक्षाः ६, केएमसी स्कुल

बुद्धनगर, काठमाडौँ 

नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् गत वैशाख १ गते म काठमाडौँको टौदह घुम्न गएँ । मसँगै बाबाममी हुनुहुन्थ्यो भने बहिनी पनि सँगै थिइन् । म पहिलो पटक टौदहको भ्रमणमा गएकी हुनाले निकै उत्साहित थिएँ । म विदेशमा बस्दा ठूला ठूला ताल, नदी तथा समुद्रसमेत देखेकी भए पनि काठमाडौँमा यति ठूलो पोखरी पहिलो पटक देख्न पाएँ । त्यसैले निकै सुन्दर पोखरीका रूपमा रहेको टौदहका बारेमा मलाई थप कुरा जान्ने मन लाग्यो । 

टौदह काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । काठमाडौँको केन्द्रबाट सात किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा रहेको टौदह कीर्तिपुर नगरपालिका–१५ मा पर्दछ । नेवारी तः दहको अर्थ ठूलो पोखरी हो । यसको लम्बाइ २१० मिटर र चौडाइ १८० मिटर रहेको छ भने गहिराइ औसतमा छ मिटर रहेको छ । 

पौराणिक किंवदन्तीअनुसार मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाएपछि काठमाडौँमा रहेको तालमा बस्ने नागहरू रिसाए । नागहरू रिसाएपछि अनिष्ट हुने भयले गर्दा मञ्जुश्रीले नै कर्कोटक नागलाई टौदहमा विराजमान गराएको विश्वास गरिन्छ । त्यसैले टौदहमा कर्कोटक नागको बासस्थान रहेको विश्वासमा त्यहाँ नाग पञ्चमीको दिन ठूलो मेला लाग्दछ । 

टौदहमा विभिन्न ३८ प्रजातिका वनस्पति, ३६ प्रजातिका कीरा तथा ११६ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यस दहमा हिउँदमा जाडो छल्नका लागि साइबेरियाबाट पानी हाँस आएर बस्ने गर्दछ । 

बिदाको दिनमा टौदहमा निकै भीडभाड हुँदो रहेछ । नयाँ वर्षको दिनमा त त्यहाँ घुम्न गएका मानिसहरूको सङ्ख्या निकै धेरै थियो । टौदहको वरिपरि कङ्क्रिटको पर्खाल लगाएर कृत्रिम पोखरीजस्तो बनाइएको भए पनि यो प्राकृतिक मूल दह हो । टौदहको छेउमा ठूलो सङ्ख्यामा रेस्टुरेन्ट खुलेका छन् । त्यसैले मानिसको भीडभाड बढेको र रेस्टुरेन्टका कारण फोहोरमैलामा समेत वृद्धि हुँदा टौदहको जैविक विविधता विनाश हुने खतरा पनि देखिन्छ । 

टौदह काठमाडौँ उपत्यकाको गहना हो । अतः धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले समेत निकै महìवपूर्ण र सुन्दर ठाउँका रूपमा रहेको टौदहको संरक्षण गर्नु अति आवश्यक छ ।