काठमाडौं, जेठ २० गते । सङ्घीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन दिन जन्मेको कांग्रेसले भ्रष्टाचारका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ ।
नेता पौडेलले भन्नुभयो, ‘‘कांग्रेसकै मानिस भए पनि भ्रष्टाचारमा मुछिएपछि बचाउन लाग्दैन, यो पार्टी देशमा सुशासन दिन जन्मेको हो, भ्रष्टाचार गर्न होइन, कांग्रेसको शिर निहुराउनेलाई बचाउन कांग्रेस कदापि लाग्दैन ।’’
नेपाली कांग्रेस तारकेश्वर नगरपालिका– ४ वडा कार्यसमितिले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
नक्कली भुटानी प्रकरणमा संलग्न व्यक्ति, रशेम चौधरीको आममाफी र सांसद विकास कोषबारेमा कांग्रेसको केन्द्रीय समितिलाई थाह छैन भन्दै नेता पौडेलले पार्टीलाई परिवर्तन गर्न तल्लो तहबाटै जमिन हल्लाउने गरी जाग्नुपर्ने समय आएको बताउनुभयो ।
बागमती प्रदेश संगठन विभाग प्रमुख सविन लामाले कांग्रेसका हरेक नेतृत्व तहमा रहनेले जनताको सेवालाई प्राथमिकता राखेर काम गर्नुपर्छ भन्नुुभयो ।
महाधिवेशन प्रतिनिधि एवम् विद्यार्थी नेता सुशील भट्टले पार्टीको तल्लो तहबाटै पार्टीलाई सशक्त बनाउने अभियान सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा कार्य समितिका सभापति हस्तबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नेताहरू निर्मलकुमार लामा, रञ्जना शर्मालगायतले कांग्रेसमा रहेका कमीकमजोरी हटाएर सङ्गठनलाई सुदृढ बनाउनुपर्ने विचार राख्नुभयो ।