काठमाडौं, जेठ २० गते । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । अवार्डको लागि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ ।
मनोनयनमा पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख पर्नुभएको छ । महिलामा कुस्तीकी मनीषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा पर्नुभएको छ । अवार्ड असार ८ गते धनगढीमा हुनेछ ।
चौथो संस्करणको अवार्डमा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा पुरस्कृत गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाई एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपियाँबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई जनही २० हजार रुपियाँ प्रदान गरिनेछ ।