• १४ वैशाख २०८१, शुक्रबार

ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

blog

सामानसहित ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ २० गते । भन्सार छलेर सदरमुकाम सिमकोटमा सामान ल्याउदैगरेको ट्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ । चीनको ताक्लाकोटबाट हिल्सामा ल्याइएको सामान ट्याक्टरमा सदरमुकाम सिमकोट ल्याउने क्रममा सशस्त्र प्रहरीको गस्तीमा रहेको टोलीले सिमकोट गाउँपालिका –६ को लादेबाडा ओखरको बोटबाट नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकरसिंह धामीले सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार नतिरी सामान ओसारीरहेको ट्याक्टर नियन्त्रणमा लिएको बताउनुभयो । गस्ती गर्नेक्रममा ट्याक्टरमा लत्ताकपडा लोड भएको ट्याक्टर आइरहेको देखेपछि गस्तीको सशस्त्र प्रहरीले चालकलाई सोधपुछ गरेको र चालकले भन्सार तिरेको जवाफ दिएपछि कागज देखाउन प्रहरीले आग्रह गरेको थियो । 

गस्ती टोलीलाई आवश्यक कागजात ल्याएर आउँछु भनेर चालक निस्केको र त्यसपछि फिर्ता नआएको उहाँले बताउनुभयो । सामानसहितको ट्याक्टर सशस्त्र प्रहरी नियन्त्रणमा रहेको छ । लु ४ च ८४०३ नम्बरको ट्याक्टर भरी कपडा रहेको छ । 

सिमकोट गाउँपालिका –६ को माथिल्लो गाउँमा सडक निर्माण कार्य भइरहेका कारण ट्याक्टरलाई प्रहरीकोमा ल्याउन समस्या भइरहेको र प्रहरीले सामान मात्र ल्याएर भन्सार बुझाउने कार्य अघि बढाउने तयारी गरेको छ ।  सामान के कति मूल्य बराबरको छ भन्ने कुरा भन्सार तिरेपछि थाहा हुने प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।