• १६ चैत २०८०, शुक्रबार

प्लास्टिकको घाँस (कविता)

blog

थाहा छैन मलाई

आफूभित्र कसको शत्रु पाल्दै छु !

फोहोर फाल्दै छु

कि

आफैँलाई  खाडलमा हाल्दै छु !


प्लास्टिक निलेर

मरिरहेछन् सामुद्रिक जीवहरू

सहरभरिको फोहोर

बढारेर नदीमा फाल्दै छु ।

जहाँ सडकका गाईलाई

प्लास्टिकको घाँस हालिन्छ ।


हिउँदमा

कृषकले खेतबाट कालो धुवाँ फैलाउँदा

म पनि जाडो थेग्न

प्लास्टिक बटुलेर घुर बाल्दै छु ।


मेरो अत्याचार

पानीको बोत्तलले बेस्सरी भोगिरहेको छ

प्लास्टिक भन्दै

उसको इज्जतलाई म निरन्तर गाल्दै छु ।


मिल्केका छन्

उपयोगी भोर्ला र सुपारीका पातहरू

प्लास्टिक भित्र्याउन

दुर्लभ विदेशी मुद्रा फाल्दै छु ।


यसरी थाहै नपाई

म आफूलाई

आफ्नै स्वार्थको चितामा बाल्दै छु ।

यसरी थाहै नपाई

म आफूलाई

आफैँले खनेको खाडलमा हाल्दै छु ।