• १३ पुस २०८१, शनिबार

संसारीमाई पञ्च वार्षिक महापूजा सुरु

blog

संसारीमाई पञ्च वार्षिकी महापुजाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नगरसरसफाई गरिँदै । तस्विर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ १९ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई पञ्च वार्षिक महापूजाको कार्यक्रम सुरु भएको छ ।

संसारीमाई पञ्च वार्षिक महापूजाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नगर सरसफाई गरी पुजाको कार्यक्रम सुरु भएको महापूजा मुल समारोह समितिका अध्यक्ष अशोक कुमार साहले जानकारी दिनुभयो । उहाँले शुक्रबार संसारीमाईको प्राङ्गणदेखि लिएर नगरसरसफाई गरिएको बताउनुहुदै महापूजाको कार्यक्रम आजबाट सुरु भएको जानकारी दिनुभयो । 

उहाँले महापूजाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १९ गते नगर सरसफाई, २० गते कलश शोभा यात्रा, २१ गते महापाठ, २२ गते लखराम पुजा, २३ गते हनुमान आराधना, २४ गते अष्टयाम, २५ गते विडी सलामी र महाआरती र २६ गते बलिप्रदान गरी पञ्च वार्षिकी महापूजाको समापन गरिने बताउनुभयो ।

जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको अगाडी रहेको बरुणसरको पूर्वी मुहारमा रहेको संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेको लागि महापूजाको तिथी तय गरेपछि चैत्र महिनाको अन्तिमसातादेखि महापुजाको तयारी थालिएको थियो । 

करिब एक करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको यस महापूजामा १० हजारभन्दा बढी बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगाको बलिप्रदान हुने अनुमान रहेको महापूजा मूल समारोह समितिका अध्यक्ष साहले बताउनुभयो । संसारीमाई महापूजामा जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य रुपमा बलि दिइने चलन रहेको छ भने संसारीमाईसँग भाकल गरेका भारत तथा विभिन्न जिल्लाका भक्तजनहरुले समेत आ–आफ्ना गच्छे अनुसार बलि दिने गरेका छन् । 

अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौं व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती रहेको छ ।