काठमाडौं, जेठ १९ गते । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता जेठ २० र २१ गते हुने भएको छ ।
भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुषमा सात र महिलामा सात गरी १४ टोलीको सहभागिता रहने छ । जसमा कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेश तथा विभागीय टोलीको त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुने संघले जनाएको छ ।
पुरुषमा लुम्बिनी र महिलामा पुलिसको सहभागिता नरहने पनि आयोजकले उल्लेख गरेको छ । प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । यस प्रतियोगिताबाट कतारमा आयोजना हुने एसिया रग्बी सेभेन्स र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय टोलीको छनोट गरिने संघले जनाएको छ ।