काठमाडौं, जेठ १९ गते । चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त शनिबार हुने भएको छ । लैनचौरस्थित टेबलटेलिस हालमा सञ्चालन हुने प्रतियोगितामा लाइट वेट, ट्रिपल थ्रेट म्याच, हार्डकोर भिडन्त, महिलातर्फको भिडन्त र हेभीवेट स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सिजे वर्ल्ड, कम्व्याट, तन्नु,आकृती, टुप्पी ग्याङ, सुजल, एक्स हिरो, चट्टान, स्पाइडर म्यान, डेभिड र साइन नुवाकोटे टाइगरको रोचक भिडन्त हुनेछ ।
प्रतियोगितामा लाइट वेटतर्फको विजेताले ६५ हजार, ट्याग टिम च्याम्पियनले एक लाख २५ हजार, लेडिज वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले एक लाख र हेभीवेट च्याम्पियनले एक लाख ५५ हजार रुपियाँ प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख रुपियाँ खर्च हुने आयोजकको भनाई छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सहयोग रहेको छ ।