काठमाडौं, जेठ १९ गते । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
मन्त्री लिम्बूले सचिवालय स्थापना पछि एसियाडको तयारीले थप तीव्रता पाउने बताउदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धीमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताउदै खेलकुद मन्त्रीले पनि एसियाली खेलकुदलाई विशेष प्राथमिकता दिनु भएको बताउनुभयो ।
सदस्य सचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औं एसियाली खेलकुद सचिवालय गठन भएको छ । सचिवालयमा राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव एक, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य रहने ब्यवस्था छ ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाउनुभएको छ । एीसयाडमा नेपालले २९ खेलमा भाग लिने निर्णय गरेको छ ।