• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्रीको भारत भ्रमण

झुलाघाटमा पुल बनाउने सहमति, बैतडीमा खुसियाली

blog

गोकर्ण दयाल

बैतडी, जेठ १९ गते  । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सहमतिपछि बैतडीमा खुसियाली छाएको छ । बिहीबार नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले झुलाघाट नाकामा पक्की पुल निर्माण गर्ने घोषणा गर्नुभएको हो । 

झुलाघाट नाकासँगै डडेलधुराको शीर्षमा पनि मोटरेबल पुल निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सङ्घीय र प्रदेश सभा निर्वाचनका बेला बैतडी पुगेका प्रधानमन्त्री प्रचण्डले झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको आशा पलाएको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । “लामो समयदेखि उठाउँदै आएको पुलको माग दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गरेपछि निकै खुसी लागेको छ,” उहाँले भन्नुभयो । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भए सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने छ । यसबाट दुई देशको आर्थिक गतिविधिसँगै सुदूरपश्चिमका धार्मिक र पर्यटकीय क्षेत्रको विकास हुने विश्वास गरिएको छ । 

त्रिपुरासुन्दरी मन्दिरका मुखिया चन्द्रसिंह थापाले हजारौँ भारतीय दर्शनार्थी नेपाल आउने बताउनुभयो । झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भए सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशको व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । झुलाघाट नाकामा इस्ट इन्डिया कम्पनीले दुई सय वर्षअघि निर्माण गरेको झोलुङ्गे पुल जीर्ण अवस्थामा छ । धार्मिक मेला, पर्वमा यही पुल तरेर भारतीय दर्शनार्थी नेपाल आउने गरेका छन् । 

पुल निर्माण हुने कुराले नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिकसमेत खुसी देखिएका छन् । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि स्थान अवलोकन भएको र प्रधानमन्त्री प्रचण्डले नै पत्रकार सम्मेलनमा बोलेपछि अब पुल निर्माण हुनेमा ढुक्क रहेको भारतीय पत्रकार सुरेन्द्र आर्यले बताउनुभयो ।