• १४ मंसिर २०८१, शुक्रबार

बजेट निकासा नहुँदा तटबन्ध निर्माण प्रभावित

blog

शालिग्राम नेपाल 

चितवन, जेठ १९ गते । चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिँदै आएको तटबन्ध निर्माणका लागि समयमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको छ। 

चार  वटा खण्डमा विभाजन गरेर नारायणी नदीको पुलबाट दक्षिण मेघौली गोलाघाटसम्मको तटबन्ध निर्माणमा बजेट अभाव भएको हो। स्रोत सुनिश्चित भएको तर समयमा बजेट निकासा नभएका कारण समयमा काम सम्पन्न हुन नसक्ने देखिएको हो। “काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएको छैन। हामीले यस विषयमा धेरै पहल गरेका छौँ तर पर्याप्त बजेट निकासा हुन सकेको छैन,”  नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शङ्कर बुढाथोकीले जानकारी दिनुभयो। 

ठुलो आयोजना भएकाले यसमा लगानी धेरै छ। तटबन्धका लागि आवश्यक सामग्री पाउन कठिन हुने र सामग्री जुटाएर काम गर्दा बजेट नपाउने समस्या परेको कार्यालय प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो। 

रकम निकासा नहुँदा निर्माण कम्पनीले अहिले उधारोमा सामग्री ल्याउने र मजदुरलाई ज्याला दिन नसक्ने अवस्थामा छन्। “कम्पनीसँग भएको पैसाले साना काम गर्न सक्लान् तर ठुलो लगानी गर्न सक्दैन। यसले गर्दा काममा ढिलाइ हुने गर्छ,” उहाँले भन्नुभयो।

निर्माणका लागि पैसा नपाउने हो भने स्रोत सुनिश्चित गर्नुको अर्थ नभएको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “बजेट निकासा नहुँदा ठेक्का सम्झौताको म्याद थप्दै लैजानुपर्ने हुन्छ। समय थपिँदा लागत वृद्धि हुँदै जान्छ। नदी नियन्त्रणको काम समयमा गर्न सकिएन भने निर्माण गरिएको संरचनासमेत बाढीले बगाइदिन सक्छ। त्यसैले संवेदनशील क्षेत्रमा हुने निर्माणमा बजेट समयमा निकासा हुन आवश्यक हुन्छ।”

लगानी र प्रगति

नारायणी नदीको रामघाटदेखि काभ्रेघाट पाँच किलोमिटर क्षेत्रका लागि एक अर्ब १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ। यो काम तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएकोमा हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ। यो क्षेत्र नारायणगढ बजारबाट पाँच किलोमिटर दक्षिणमा छ। 

यसैगरी गाजीपुरदेखि हीरापुरसम्म पाँच किलोमिटर लम्बाइको तटबन्ध निर्माणका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा १० प्रतिशत मात्र भएको कार्यालयले जानकारी दिएको छ। 

सिसैदेखि बालुवासम्मको साढे पाँच किलोमिटर लम्बाइको तटबन्ध निर्माण गर्न ३७ करोड रुपियाँको ठेक्का सम्झौता भएकोमा यसको पनि हालसम्मको प्रगति १० प्रतिशत मात्र रहेको कार्यालयले जानकारी दिएको छ। बालुवादेखि गोलाघाट नारायणी र रापती नदीको सङ्गम स्थल क्षेत्रमा साढे दुई किलोमिटर तटबन्धका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा ३० प्रतिशत काम सम्पन्न भएको छ। 

पाँच वटा ठेक्का सम्झौतामध्ये नारायणी नदीको पुलबाट उत्तरतर्फको ‘सी बिच मोडल’ को तटबन्ध निर्माण भर्खरै सम्पन्न भएको छ। यसको लम्बाइ ६४० मिटर थियो। विभिन्न प्याकेजमा काम भइरहेको यहाँ ग्याबिन जालीहित कङ्व्रिmट प्लेट राख्ने, ठुला ढुङ्गा राख्ने, गिट्टीको ड्याम निर्माण गर्नेलगायतका काम भएको कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो।  

तटबन्धको काम गत मङ्सिरदेखि सुरु भएको थियो । कतिपय काम निकुञ्ज क्षेत्रमा गर्नुपर्ने भएकाले कानुनी प्रव्रिmया पूरा गरेर गर्न कठिन हुने कार्यालयले जानकारी दिएको छ। निर्माणका लागि ठुलो परिमाणमा गिट्टी, बालुवा आवश्यक पर्ने भएकाले इआइए गरेर नजिकैको खोलाबाट ल्याउन अनुमति पाएको कार्यालय प्रमुख मरासिनीले बताउनुभयो।