अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १९ गते । म्याग्दी जिल्लाको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माण थालेको छ। बेनी नगरपालिकाले फलफूल तथा तरकारी सञ्चय गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस् भनेर कोल्ड स्टोर निर्माण थालेको हो।
कोल्ड स्टोर निर्माण गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा एक करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। कोल्ड स्टोर निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार ३७२ रुपियाँ लागत अनुमान गरिएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले राजेशबाबु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लाख २० हजार ७३८ रुपियाँमा गत फागुन ४ गते निर्माण सम्झौता भएको बताउनुभयो। ढकालले भन्नुभयो, “फागुन ४ गते सम्झौता भएपछि सोही दिन नै नगरपालिकाले राजेशबाबु निर्माण सेवा बारकोट गाउँपालिका–५ जाजरकोटलाई कार्यादेश दिएको हो।”
आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको उक्त योजनाको निर्माण कम्पनीले बेनी नगरपालिका–४, सिङ्गाको राजिकुलोमा जग्गा व्यवस्थापन गरेर पर्खाल निर्माणको काम सुरु गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो। तीन सय मेट्रिक्टन क्षमताको कोल्ड स्टोर तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचनासहित निर्माण हुन लागेको उहाँको भनाइ छ।
कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि शीत भण्डार निर्माण गर्न लागिएको अध्यक्ष खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिका र म्याग्दीका अन्य गाउँपालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा साबित हुने अपेक्षा गरेका छौँ।
कोल्ड स्टोर निर्माण नगरपालिकाको चालु वर्षको सबैभन्दा ठुलो योजना हो।” यसअघि बेनी नगरपालिकामा कोल्ड स्टोर बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि उचित स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन।
कोल्ड स्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकको अपेक्षा छ।
म्याग्दीको बेनी नगरपालिकाको वडा नं.–३ को भकिम्लिको राखु, मरेक तथा वडा नं.–४ को बास्कुना एवं थामाडाँडा क्षेत्र सुन्तलाको पकेट क्षेत्र हुन्। गत वर्ष उक्त क्षेत्रमा उत्पादन भएको ३४० मेट्रिकटन सुन्तला बिक्री भएको बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो। उहाँले भन्नुभयो, “बेनी नगरपालिकाको ३ र ४ नम्बर वडाको मरेक, राखु र बास्कुनालगायतका क्षेत्रमा सुन्तला उत्पादन हुने भएकाले पनि त्यही क्षेत्रमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो।”