गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगका प्रमुख डा. पुष्पराज कँडेलले मुलुक अहिले आर्थिक सङ्कटमा परेको सत्य भएको र सरकारले राजस्व असुलीमा तीव्रता दिए मात्र आर्थिक सङ्कटबाट पार लाग्न सकिने बताउनुभएको छ ।
आज यहाँ केही पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लिएको लक्ष्यभन्दा निकै कम अर्थात् अहिले ५५ प्रतिशत पनि राजस्व असुली भइनरहेको अवस्थामा मुलुक आर्थिक सङ्कटमा परेको उहाँको भनाइ छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा टुक्रे कार्यक्रम बढी रहेको र राजस्व असुली लक्ष्यअनुसार गर्न नसके समस्या कायमै रहने उहाँको भनाइ छ ।
सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्यप्रति आफू आशावादी रहेको चर्चा गर्नुहुँदै डा. कँडेलले भन्नुभयो, “सरकारले लिएको आर्थिक वृद्धिमा म निकै आशावादी छु, तर त्यसका लागि सरकारले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।”
सांसदहरूका लागि निर्वाचन क्षेत्र विकास कोषलाई सांसद विकास कोषको रूपमा बजेटमा ल्याउनु उचित नरहेको चर्चा गर्नुहुँदै डा. कँडेलले भन्नुभयो, “यो कोष यसअघि प्रयोग भएर असफल साबित भइसकेको छ, फेरि त्यसलाई ब्युँताउनु भनेको अर्को पल्ट पुनः असफल हुनु हो, यो कोषलाई पारदर्शीरुपमा प्रयोग गर्न सक्ने आधार छैन ।”
बजेटलाई राम्रो बनाउने प्रयास सरकारले गरे पनि आवश्यक सचेततामा ध्यान दिन नसकेको भन्नुहुँदै डा. कँडेलले यसको कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । मुलुक सङ्घीय व्यवस्थामा गएपछि स्थानीय सरकारलाई घरबहाल कर उठाउने जिम्मेवारी दिए पनि त्यो प्रभावकारी हुन नसकेको उहाँले चर्चा गर्नुभयो ।
स्थानीय सरकार नै जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय सरकारले नै प्रभावकारी काम गर्न सक्नुपर्ने उहाँको भनाइ छ । जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न पारदर्शी ढङ्गले काम गर्न आवश्यक रहेको उहाँको सुझाव छ ।
सो अवसरमा जिफन्टका महासचिव लक्ष्मण शर्माले श्रमिकको समस्या समाधानमा सरकारले तथ्याङ्क लिएर रोजगारीमा लगाउन सके मुलुकको आर्थिक अवस्थामा सुधारको सङ्केत देखिने विश्वास व्यक्त गर्नुभयो ।