• २७ वैशाख २०८१, बिहिबार

त्रियुगा नगरपालिकाद्वारा प्रगति विवरण सार्वजनिक

blog

प्रगति सार्वजनिकीकरण गर्नुहुदै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतसहित पदाधिकारीहरु । तस्विर : भक्तिविलास पोखरेल

भक्तिवलास पोखरेल

गाईघाट, जेठ १८ गते । उदयापुरको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण स्थानीय तहका जनताको आवश्यकताअनुसार विकास निर्माणका योजनाहरू सञ्चालन गरी काम गर्न नसकिएको बताउनुभएको छ । 

नगर प्रमुख बस्नेतले स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित त्रियुगा नगरपालिकाका जनप्रतिनिधिहरूको एक वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा नगरपालिकाले भए गरेका विकास निर्माणको कामको समीक्षा तथा प्रगति सार्वजनिकीकरणका लागि बिहीबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

सङ्घीय सरकारले स्थानीय सरकारमार्फत बजेट कार्यान्वयन गराउनु पर्नेमा सोझै माथिबाट सीमित स्रोत साधनमा बाँधेर राख्नेगरेको र स्वीकृत बजेट पनि कटौती गर्ने गरेपछि स्थानीय सरकारले जनताका अपेक्षित काम गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुखले बोल्ने हैन कामले देखाउने ठाउँमा हामी आएका छौँ, तर बजेट नहुँदा विकास निर्माणका योजनाहरू सम्पन्न गर्न बीचैमा खुम्चिनुपरेको छ ।”

एक बर्से प्रगतिमा नगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म इमान्दारी साथ विकासका काममा खर्च गरेको भन्दै गाईघाट बजारलाई आधुनिक सुविधा सम्पन्न बजारका रूपमा स्थापित गराउन योजना बनाइएको, बरुवा त्रियुगा कोरिडोरमार्फत मदनभण्डारी राजमार्गलाई बाइपास गरेर ट्राफिक जाम कम गर्न ठुला सवारी साधनलाई बाइपासबाट कटाउन लागिएको, वडाबाट सञ्चालित योजनाको प्राविधिकसहितको टोलिले अनुगमन गर्नेगरेको बताउनुभयो ।

नगरपालिकाको कामलाई चुस्त बनाउन गुनासो सुन्ने अधिकृतको व्यवस्था गरिएको, सर्वसाधारणलाई आफ्नो काममा सहजता होस् भनेर गेटमै नागरिक बडापत्र राखिएको, कुनै कुराको पनि ढाकछोप नगरी सूचनाको पहुँच नागरिक तहसम्म लग्न नगरपालिकामा सूचना केन्द्रको स्थापना गरिएको र भ्रष्टाचाररहित त्रियुगा नगरपालिका बनाउन यस नगरका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले हरेक वर्ष आफ्नो सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

नगरका असहाय, सुकुम्वासी भूमिहीनहरूलाई घरवास कार्यक्रममार्फत आवास गुह निर्माण गरी वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको, पर्यटन क्षेत्रको विकासमा विश्वकै ठुलो शिव लिङ्ग स्थापना, त्रियुगा शान्तिधामको विकास गरिएको, विसनपुर हरित पार्क, बेलदोभान झर्ना आदि ठाउँको विकासमा राम्रो काम गरिएको बताउनुभयो ।

यसैगरी ११ हजार छ सय ४७ मिटर सडकमा कालोपत्रे गरिएको, २१ हजार २५ मिटर नाली निर्माण गरिएको, ४० हजार मिटर कच्ची सडकमा ग्राभेल गरिएको, १० वटा सडकमा करिब सात हजार मिटर नयाँ ट्रयाक खोलिएको र साना ठूलागरी ७७ वटा सार्वजनिक भवन निर्माण तथा २३ वटा कल्भर्ट निर्माण गर्ने काम सम्पन्न गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।