प्रकाशविक्रम शाह
धनगढी, जेठ १८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वास्तविकताका आधारमा युवा वर्गलाई समेट्दै सन्देश दिनेखालले रोजगारी सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्, युवालयलगायत संस्थाको आयोजनामा धनगढीमा भएको जेठ १४ र १५ गते भएको नीति संवाद तथा युवा महोत्सवको घोषणापत्र बिहीबार बुझ्दै मुख्यमन्त्री शाहले युवा वर्ग बाध्यता र रहर दुईवटै कारण देश छोडिरहेकाले उनीहरूलाई स्वदेशमै रोक्ने प्रयास गर्न लागिपरेको बताउनुभयो ।
विपन्न परिवारका युवालाई पेट पाल्न भारत तथा खाडीमुलुक र हुनेखाने परिवारका युवा युरोप, अमेरिकातर्फ रहरले जानेगरेको अवस्थालाई आफूले बुझेको बताउँदै उनीहरूलाई छुने खालको कार्यक्रम बनाउन खोजिरहेको चर्चा गर्नुभयो ।
हामीले लागूऔषध दुर्व्यसनीबाट जोगाउन समेत केही कार्यक्रम ल्याउँछौ उहाँले भन्नुभयो, “युवालाई के उपायले स्वदेशमै रोक्न सकिन्छ, राम्रो सुझावको अपेक्षा हामीले सबैतिरबाट गरेका छौँ, राम्रो सुझावलाई सरकारका कार्यक्रममा समेटेर जानेछौँ ।”
एक प्रसङ्गमा मुख्यमन्त्री शाहले आफू सुदूरपश्चिमका नौ वटै जिल्लामा घुम्दा सबैतिर बाटोघाटो पुगेको, स्वास्थ्य चौकी, विद्यालय बनेको पाएको बताउँदै केही पनि काम भएन भनेर निराश बनाउने कुरा गलत भएको बताउनुभयो ।
सो अवसरमा युवालयका अध्यक्ष सन्तोष महर्जन, वालिका दुलही होइनन्का निरीजना भट्ट, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य किरण थापाले नीति संवाद तथा युवा महोत्सवले “समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट” भन्ने नाराका साथ जारी गरेको २१ बुँदे घोषणापत्र मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभएको थियो ।
युवालयका अध्यक्ष महर्जनले २१ बुँदे घोषणापत्रले युवाका लागि गर्नुपर्ने काम प्रस्ट रूपमा उल्लेख गरेको दाबी गर्नुभयो । यस्तै, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य थापाले मनमनै विदेश जाने टिकट काटिसकेका युवालाई रोक्न सकेर सही काममा लगाउन सके देशमा चाँडै समृद्धि आउने बताउनुभयो ।