• १५ वैशाख २०८१, शनिबार

संसद्‍ भवनको काम निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन

blog

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गर्नुहुँदै सभामुख देवराज घिमिरेलगायत । तस्बिर : सागर बस्नेत

काठमाडौं, जेठ १८ गते। सभामुख देवराज घिमिरेले नयाँ संसद्‍ भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्काको काम समयभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। उहाँले अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको बताउनुभयो। 

उहाँले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ। यो समयमै बन्नुपर्छ। यो राष्ट्रको आवश्यक्ता हो। हिजोका प्रतिकुलतालाई अब अनुकुलतामा बदलेर समयमा नै काम सक्नुपर्छ। अब अनुकुलता सबै ठाउँमा छ। अब समयमा नै काम सकिन्छ।’’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताउनुभयो। उहाँले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताउनुभयो। सभामुख घिमिरेले संसद भवन निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।


उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताउनुभएको छ। बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘सयमको दुरुपयोग पनि भ्रष्टाचार हो, मुखले मिठो बोलेर होइन, एक्शन लिनुपर्छ। सबै कन्ट्याक्टर राखेर भए पनि लिएको सययमा काम सक्नुपर्छ। यो समयमा काम सक्नुपर्छ।’