काठमाडौं, जेठ १८ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ।
बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको हो। उहाँले कांग्रेसलाई सुधार्नका लागि सबै गुट भत्काउनु आवश्यक रहेको बताउनुभयो। उहाँले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरुको साथ छोड्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीन वटा कुराबाट आजित छ। पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ। पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ। कुशासन, बेथिति, भ्रष्टाचार छ। नेपाली कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु। राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ। नयाँ मान्छे आउँछन्। नआउने कुरै छैन। कांग्रेस कमजोर हुने कुरै छैन। यो पार्टीको पुनःनिर्माण सम्भव छ। हामी बनाउने हो। तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ। अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ।’’
महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेसले मानिसलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिस पार्टीमा आउने बताउनुभयो। उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताउनुभयो।