सिराज खान
नेपालगञ्ज, जेठ १८ गते । बाँकेमा अत्यधिक गर्मी बढेपछि खजुरा गाउँपालिका भित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ । बाँकेमा केही दिनयता तातो हावा लु चलेर अत्यधिक गर्मी बढ्दै गएपछि खजुरा गाउँपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भएकाले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालयहरूबाट माग आएकाले उक्त माग बमोजिम शिक्षा समितिले तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ ।'
देशकै अत्यधिक गर्मी हुने ठाउँ मध्येको एक बाँके जिल्लामा पछिल्ला केही दिनदेखि चलेको तातो हवा (लु) का कारण गर्मी ह्वात्तै बढेको छ । जसले गर्दा विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सम्पूर्णलाई असर परिरहेको छ ।
चर्को गर्मीका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति निकै न्यून हुन थालेपछि नेपालगञ्ज र कोहलपुरमा पनि बिदा गर्न स्थानीय अभिभावकले माग गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अत्यधिक गर्मीका कारण बाँके जिल्लाको जनजीवन अत्यधिक प्रभावित बनेको बताउनुभयो । उहाँले गर्मीका कारण समस्या भएका विद्यालय केही दिन बन्द गर्न पालिकाहरूलाई आग्रह गरिएको बताउनुभयो ।