अविनाश चौधरी
धनगढी, जेठ १८ गते । कैलालीबाट दुई सय ४४ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले आयोगमा मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट निवेदन माग गरेको थियो । सोही अनुसार अनलाइनमार्फत उनीहरूले उजुरी दर्ता गराएका छन् ।
वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुई सय ४४ जनाको उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । “यहाँबाट निवेदन दर्ता गर्ने कार्य सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब, त्यसपछि के गर्ने ? त्यस प्रश्नमा माथिबाट निर्देशन आइसकेको छैन ।” आयोगले दिएको निर्देशन अनुसार अगाडि बढ्ने जोशीको भनाइ छ ।
उहाँका अनुसार कतिपय पीडितहरूको उजुरी दर्ता भएपनि प्रमाण केही छैन । त्यस्तै, अनुचित लेनदेन पनि कसैका अत्यधिक कसैका केही कम छन् । त्यसैले उजुरीको ‘क्याटेगरी’ छुट्याउने कार्य पनि हुने जनाइएको छ ।