• १५ चैत २०८०, बिहिबार

गाउँमै चोयाचित्रो उद्योग स्थापना

blog

प्युठान समाचारदाता

प्युठान, जेठ १८ गते ।  झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ । 

“डेढ महिनादेखि बाँसका सामान बनाउन सिकिरहेको छु,” थापाले भन्नुभयो, “गाउँमै उद्योग खुलेपछि सिप सिक्न पाइएको छ ।” अहिले विभिन्न प्रकारका सामग्री बनाउन सक्ने भएको उहाँको अनुभव छ । प्युठानको झिमरुक गाउँपालिका–५, ओखरकोट पुग्दा त्यहाँका स्थानीय गाउँको सामुदायिक भवनमा सिप सिकिरहेका भेटिन्छन् । गाउँमै चोयाचित्रो उद्योग सञ्चालन भएपछि गाउँका महिला पुरुष दैनिक सिप सिक्न व्यस्त छन् । 

ओखरकोटमा डेढ महिनादेखि चोयाचित्रको सामग्री बनाउने तालिम चलिरहेको छ । गाउँमै उद्योग स्थापना गर्ने गरी गाउँका महिला पुरुष यसमा जोडिएका छन् । आयआर्जन र स्वरोजगार हुने आशासहित तालिममा सहभागी भएको स्थानीय बालिका जिसीले बताउनुभयो । “हामी उत्साहित भएका छौँ,” जिसीले भन्नुभयो, “गाउँमै बसेर आयआर्जन हुने आशा पलाएको छ ।” 

स्थानीयस्तरमा पाइने स्रोत बाँसबाट थुप्रै प्रकारका कलात्मक सामग्री बनाउन सकिन्छ । सानो लगानीबाट समेत व्यवसाय गरेर राम्रो आम्दानी लिन सक्ने सम्भावना गाउँमा रहेको प्रशिक्षक तुनमान राई बताउनुहुन्छ ।