• १५ चैत २०८०, बिहिबार

यो वर्ष सुर्तीजन्य पदार्थको कर बढेन : स्वास्थ्य मन्त्री

blog

काठमाडौं, जेठ १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा भनेजति कर बढ्न नसकेको बताउनुभएको छ ।  

विश्व सुर्तीजन्य पदार्थ रहितको दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सम्बन्धित व्यापारी र व्यवसायीको कुरा जोडिएका अर्थ मन्त्रालयले कर नबढाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मैले सुरुवातदेखि नै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने कुरा राख्दै आएको थिएँ । तर बजेट भाषणमा भनेजति कर बढेन । अर्थमन्त्रीसँग कुरा गर्दा उहाँले कर्मचारी साथीहरूले अहिलेलाई यति गरौँ भन्नु भएको थियो ।” उहाँले कर नबढेको विषयमा आफूले क्याबिनेटमा समेत कुरा राखेको र यसलाई सच्याउन माग गरेको दाबी गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनु पर्छ भन्दै आएको छ । 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले केहीदिन अघि मात्रै विश्व स्वास्थ्य सङ्गठनको ७६ औँ महासभालाई सम्बोधन गर्ने क्रममा  समेत नेपालले सुर्तीजन्य पदार्थको करको दर बढाउने प्रतिबद्धता गर्नुभएको थियो । तर, नेपालमा बढाउनु पर्ने करको दर झनझनै घटाउन थालेको सरोकारवालाले गुनासो गर्दै आएका छन् ।

एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले यो वर्ष प्रारम्भिक विश्लेषणले सुर्तीजन्य पदार्थमा गत वर्ष भन्दा करिब ५ प्रतिशतले करको दर घट्ने देखिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “बजेटमा ज्यादै न्यून रूपमा २.५ देखि ४ प्रतिशत सम्म कर वृद्धि गरेको देखिएपनि मुद्रास्फीति दर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घट्ने भएको हो । यो पछिल्लो १० वर्ष यताकै न्यून हो ।”

सरकारले यस पटकको बजेट भाषणद्वारा अवलम्बन गरेको नीतिले खाद्यान्न झन् झन् महँगो हुँदै जाने र सुर्तीजन्य पदार्थको मूल्य झन् सस्तो हुँदै जाने अवस्था सिर्जना गरेको चन्दको गुनासो छ ।  

“हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन” भन्ने नाराका साथ यो वर्ष विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । 

यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक र दिगो खेतीका लागि नीति र रणनीतिहरु विकास गर्ने विषयमा राष्ट्रिहरुको ध्यानाकर्षण गराएको छ । 

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण

यस्तै, दिवसको अवसर पारेर मन्त्रालयको स्वास्थ्य कर कोष सचिवालयले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण गरेको छ । उक्त पुरुषकार सुर्तीजन्य पदार्थको आयत, उत्पादन, विक्री, वितरण गर्ने कार्यलाई न्यूनीकरण र नियमनको कार्यमा संलग्न संस्था, व्यक्ति, गैरसरकारी संस्था, पत्रकार, सरकारी निकाय र त्यही क्षेत्रमा कार्यरत कर्मचारीलाई सो पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार पाउनेमा संस्थातर्फ नेपाल विकास अनुसन्धान प्रतिष्ठान ललितपुर, गैरसरकारी संस्थातर्फ एक्सन नेपाल त्रिपुरेश्वर, सरकारी निकायतर्फ विराटनगर महानगरपालिका, जनस्वास्थ्यतर्फ प्रा.डा रिता थापा, सरकारी कर्मचारीतर्फ डा.भक्त बहादुर केसी र पत्रकारतर्फ पदमराज जोशी छन् । उक्त पुरस्कारको राशि ५० हजार रुपियाँसहित कदर पत्र रहेको छ । 

सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भागमा चेतावनीमूलक घातक चित्र राख्ने प्रतिबद्धता जनाएपछि सन् २०१५ मा नेपाललाई युएईमा ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्रदान गरिएको थियो ।

पुरस्कार स्वरूप प्राप्त भएको एक लाख अमेरिकी डलर (करिब १ करोड नेपाली रुपियाँ) राशिको स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो ।

यस व्यवस्था अनुसार पहिलो पटक २०७६ सालमा व्यक्ति र संस्था गरी ६ जनालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि कोभिड १९ का कारण यो पुरस्कार वितरण गरिएन । यो वर्ष दोस्रो पटक पुरस्कार वितरण गरिएको हो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।