• ८ वैशाख २०८१, शनिबार

'हार्वेस्टर' आएपछि किसानलाई राहत

blog

सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकै काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर)को उद्घाटन गरिदै ।

जयकृष्ण यादव 

इनरुवा, जेठ १६ गते । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकै काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर) को बुधाबार उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्था र चन्द्रोदय मकै पकेट समितिले चालु आर्थिक वर्षमा पहिलो पटक मकै काट्ने र सँगै छोडाउन सक्ने मेसिन (हार्वेस्टर) को गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले उद्घाटन गर्नुभएको हो ।

हार्वेस्टर उद्घाटन भएसँगै कृषिमा कृषियन्त्रको प्रयोगले लागत घट्ने, समयको बचन हुने र किसानको आम्दानी बढ्ने उपाध्यक्ष अनिता कुमारी साहले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मकै कटर मेसिन(कम्बाईन हार्वेस्टर) नयाँ यान्त्रिक प्रविधि प्रयोगमा ल्याएकाले मकै किसानलाई सहज हुने भएको साहले बताउनुभयो ।

मकै काट्ने, छोडाउने वा दाउनी गर्ने जनशक्ति अभाव भइरहेका बेला यान्त्रिक प्रविधि प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै (हार्वेस्टर)को उद्घाटन गरिएको उहाँले बताउनुभयो । उहाँले कृषिमा मेसिन प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदा हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका योजना शाखा प्रमुख प्रवीणलाल श्रेष्ठले समयको बचत, जनमजदुरको आवश्यकता नपर्ने र कम लागतमा मकै काट्ने छोडाउने मेसिन (हार्वेस्टर)को प्रयोगले कृषिमा यान्त्रिकीकरण र लागतमा न्यूनीकरण भएको बताउनुभयो । उहाँले यसको प्रचारप्रसारका लागि गढी गाउँपालिकामा सचेतना अभियान सुरु गर्ने गरी उद्घाटन गरिएको बताउनुभयो । 

गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले विगतमा धान र गहुँ काट्ने मेसिनको विस्तार भएकोमा जिल्लामै पहिलो पटक हार्वेस्टरको प्रयोगले कृषिमा यान्त्रिकीकरण भएको सार्थक सन्देश प्रवाह भएको बताउनुभयो । अध्यक्ष चौधरीले धान, गहुँ पछिको तेस्रो बालीमा पर्ने मकैको विकास र विस्तार गर्नका लागि सङ्घीय सरकारको कृषि तर्फको सर्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मकै कटर मेसिन (कम्बाईन हार्वेस्टर) प्रयोगमा ल्याएकाले गाउँका मकै किसानलाई सहज भएको बताउनुभयो ।

गढीका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जिल्लामै पहिलो दाबी गरिएको मकै कटर मेसिन(कम्बाईन हार्वेस्टर)नयाँ यान्त्रिक प्रविधि प्रयोग, प्रचारप्रसार र उपयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

घिमिरेले भन्नुभयो, "स–साना प्लट जग्गामा हाते मेसिन रिपर र धेरै क्षेत्रफल भएको जग्गामा हार्वेस्टर प्रभावकारी हुन्छ, त्यसैगले धान, गहुँमा सफल भएपनि मकैंका लागि मेसिन ल्याएको हो ।"

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै पकेट कार्यक्रम अन्तर्गत चन्द्रोदय मकै पकेट सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र मेहताका अनुसार ५० प्रतिशत अनुदानमा मकै कटर मेसिन(कम्बाईन हार्वेस्टर)नयाँ यान्त्रिक प्रविधि प्रयोगमा ल्याएकाले प्रति बिघा किसानलाई १० हजार रुपियाँ लागत खर्च बचेको छ । मकै किसानलाई खेतबाट मकै तोड्न प्रतिकठ्ठा एक मजदुर, जम्मा गर्ने एक मजदुर र छोडाउन वा दाउनी गर्न प्रतिकठ्ठाको दुई केजी भाडा दिनुपर्ने, उठाउन, सुकाउन र बोरामा हाल्नेसम्मको काम गर्दा दुई हजार रुपियाँ खर्च भएकोमा यस समेसिनले पाँच सय रुपियाँमा सबै काम सहज भएको मेहताले बताउनुभयो । 

उद्घाटन कार्यक्रमका अतिथिहरूले यस वर्ष चन्द्रोदय कृषि सहकारी संस्था लि. र गढी गाउँपालिकाको संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधिको बारेमा सचेतना र प्रचारप्रसार सहित ५० प्रतिशत हासर्वेस्टर र अन्य उपकरणहरू अनुदानमा उपलब्ध गराएको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

संस्थाका कमलकिसोर शर्माका अनुसार मकै काट्न सहज हुने (हार्वेस्टर)को उद्घाटनसँगै एक घण्टा ३० मिनेटमा एक बिघादेखि एक बिघा १० कट्ठासम्म मकै तयार गर्न सकिने भएको छ । 

कम्बाइन हार्वेस्टर प्रयोग गर्नाले एकैपटक काट्ने दाउनीको कामसमेत प्रभावकारी भएको संस्थाका अध्यक्ष सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।