• १५ वैशाख २०८१, शनिबार

साफ फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले साफको तयारीका लागि प्रारम्भिक चरणमा ३० खेलाडीको छनोट गर्नुभएको हो । नेपाली टोलीले हाल ‘ए’ डिभिजन लिष्को विश्रामका दिन तयारी गर्दै आएको छ ।

जेठ २७ गतेसम्म लिग चल्ने हुनाले नेपाली टोलीको पूर्ण प्रशिक्षण लिग पछि हुनेछ । प्रारम्भिक टोलीमा लिगमा उच्च प्रदर्शन गरिरहेका र अनुभवी पुराना खेलाडीलाई समावेश गरिएको छ । 

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले एक साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् । यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ ।

लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । 

साफ प्रारम्भिक टोली

गोरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ 

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष् गुरुङ, विक्रम लामा, रोहित चन्द, सीमान्त थापा र अन्जल महर्जन

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने र विशाल तामाङ 

स्ट्राइकर : आषुश घलान, नवयुथ श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आशिष् चौधरी, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन ।