• १४ मंसिर २०८१, शुक्रबार

सल्यानमा वृहत् पढाइ मेला

blog

रुमटु रिडको आर्थिक तथा प्राविधिक सहयोग तथा शारदा नगरपालिका सल्यानको आयोजनामा खलंगास्थित त्रिजमावि आयोजीत पढाइ मेलामा राखिएका सामाग्री । तस्विर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ १६ गते । पठन संस्कृतिको विकासका लागि पहिलो पटक पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न भएको छ । शारदा नगरपालिका २ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा पढाइ मेला सम्पन्न भएको हो । 

मेलामा एक हजार बढीले अवलोकन गरेका छन् । नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न जिल्लामा पहिलो पटक वृहत् पढाइ मेला आयोजना गरिएको हो । पढाइ मेलामा अक्षर पत्ती खेल र विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामाग्री हेर्दा निकै रमाइलो लागेको श्री शारदा प्राथमिक विद्यालय शारदा नगरपालिका १ की कक्षा ४ मा अध्ययनरत सृजना रानाले बताउनुभयो । उहाँका अनुसार पढाएको भन्दा मेलामा शिक्षा सम्बन्धी राखिएका सामाग्री हेर्दा निकै रमाइलो लाग्ने र फरकफरक विद्यालयका विद्यार्थी एक आपसमा आफूले तयार गरेका शैक्षिक सामग्रीबारे जानकारी दिइएको छ । 

पढाइ मेलामा स्थानीय स्रोत साधन प्रयोग गरेर शैक्षिक सामाग्री तयार गरिएको छ । धेरै विद्यालयहरू एकै ठाउँमा शैक्षिक सामाग्री रहँदा निकै उपयोगी हुँदो रहेछ । नेपाली, अङ्ग्रेजी, विज्ञान र प्रविधि, सामाजिक ,खेल, चित्र कला, चित्र कथा, गणित, पेपरक्राफ्ट विधाका सामग्री मेलामा सहभागी गराइएको हो । 

महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विमला कुँवरले शैक्षिक मेलामा आउँदा शैक्षिक सामाग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने ज्ञान भएको बताउनुभयो । उहाँका अनुसार आफूले जाने र बुझेसम्मका शैक्षिक सामाग्री लिएर मेलामा सहभागी भएको र धेरै विद्यालयले फरकफरक सामाग्री ल्याउँदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको छ ।

बालशखा माध्यमिक विद्यालयका शिक्षक प्रमोद केसीले बालबालिकामा पढाइप्रति रुचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, "मेलाले शैक्षिक सामाग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ । विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाइप्रति रुचि बढाउने उद्देश्यले मेला सञ्चालन गरिएको हो ।"

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले नगरपालिकाभित्र रहेका ५७ सामुदायिक र ११ निजी विद्यालय रहेको बताउनुभयो । उहाँका अनुसार सबै विद्यालयलाई २० स्टलमा राखी विद्यालयबाट विकास गरिएका बाल केन्द्रित, नविनतम् र आकर्षक पठन सामाग्रीका स्टल निर्माण गरिएको हो ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा नगर स्तरीय पढाइ मेला भएको हो । साक्षरता कार्यक्रम सल्यानका संयोजक टेकराज शाहीले सल्यानका ७ वटा पालिका शारदा र बागचौर नगरपालिका, त्रिवेणी, छत्रेश्वरी, शिद्धकुमाख र दार्मागाउँपालिका गरी ६८ वटा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । 

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामाग्रीको पहुँच बढाउँदै पठन संस्कृति विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, सञ्चारकर्मी तथा अन्य सरोकारवाला गरी करिब एक हजार जनाको सहभागिता जनाएका छन् ।