• १६ चैत २०८०, शुक्रबार

दश महिनामा दुई करोड बढी राजस्व सङ्कलन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ १६ गते । यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गामा राजश्व सङ्कलन वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा दुई करोड ४४ लाख ५९ हजार पाँच सय २० रुपियाँ राजश्व सङ्कलन गरेको हो । 

सबैभन्दा बढी सवारी साधन बापतको कर दुई करोड चार लाख ७१ हजार २० रुपियाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी बद्रीप्रसाद घिमिरेले बताउनुभयो । सवारी इजाजत र सवारी चालक अनुमति पत्र दस्तुर बापत ३३ लाख २७ हजार ३१० रुपियाँ, यातायात क्षेत्रको आम्दानी दुई लाख ४७ हजार ९९० रुपियाँ र यातायात व्यवसाय रजिस्ट्रेसन दस्तुर १३ हजार २०० गरी दश महिनामा दुई करोड ४४ लाख ५९ हजार पाँच सय २० रुपियाँ राजश्व सङ्कलन भएको घिमिरेको भनाइ छ । 

यस कार्यालय बाट करिब दुई महिना देखी सवारी चालक अनुमति पत्र वितरण सुरु गरिएको छ । दुई महिनाको अवधिमा २८६ जनाले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । यही अवधिमा २८५ जनाले सवारी चालक अनुमति पत्र नवीकरण गराएका छन् । 

आर्थिक वर्ष २०७९/०८० को दश महिनाको अवधिमा दुई हजार ७१ वटा सवारी दर्ता भएका छन् । १७८ सवारी नामसारी, १३० सरुवा दर्ता, ८८ जाँच पास, १८ वटा रुट इजाजत, १४ हेरफेर दर्ता र १३ सवारी पञ्जिकरण गरिएको कार्यालय प्रमुख गोपाल दाहालले बताउनुभयो । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी भेगका नागरिकले यस कार्यालय मार्फत यातायात सम्बन्धी सेवा लिने गरेको प्रमुख दाहालले जानकारी दिनुभयो ।