रमेश विश्वकर्मा
गुल्मी, जेठ १६ गते। नेपाली कांग्रेस गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। जिल्ला पार्टी कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिएको हो।
सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको प्रवक्ता उदयबहादुर थापाले जानकारी दिनुभयो।
जनप्रतिनिधीद्वारा जनमुखी बजेट निर्माण तथा कार्यान्वयन र नागरिकलाई आवश्यक विकास पुरागर्ने काममा प्रत्यक्ष सहयोग कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय तहका नगरपालिकाका प्रमुख, उप–प्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरुलाई प्रशिक्षण दिइएको हो।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जनउपयोगी र जनताका आवश्यकतालाई कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले नयाँ बजेट निर्माण गर्दाको अवस्था, भूगोलको अवस्था र आवश्यकतालाई पहिचान गर्नुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले स्थानीय सरकारबाट जनताले धेरै कुराको आशा गरेकाले सोही अनुसार काम गर्नु जनप्रतिनिधिको दायित्व रहेको बताउनुभयो।