काठमाडौं, जेठ १६ गते । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ ९भोलि० बाट जेठ २० गतेसम्म हुँदैछ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर मङ्गलबार उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो । उहाँले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने मन्त्री साउदले बताउनुभयो । उहाँले भारतीय भूमि प्रयोग गरी बङ्गलादेशमा ऊर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ ।
यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ । हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरूलाई अगाडि बढाउनेछौँ ।
यसको बारेमा दुई देशका बीचमा, दुई देशको सरकारका बीचमा वार्ताबाट केही ठोस निष्कर्षमा पुग्ने तयारी भइरहेको छ, यसमै दुई वटै देशका अधिकारीहरू क्रियाशील रही आएका छन् । हाम्रो भ्रमणको मुख्य कुरा नेपालमा पावर उत्पादन गर्नेकुरा जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्नेकुरा, एलोसीबाट ट्रान्समिशन लाइनहरू बनाउने कुरा र नेपाल—भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्नेकुरा र भारतीय ग्रिट र ट्रान्समिशनलाई प्रयोग गरेर बङ्गलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कुरा यसमा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुङ्गोमा पुग्ने प्रयत्नमा छौँ ।’
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गर्नुभयो । उहाँले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेन्डाहरूको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कमिटमेण्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रूपमा दुवै पक्षबाट यस्तो भइरहेको छ भन्ने अनुभव छ । हामी छलफलको सन्दर्भमा, उच्चस्तरीय छलफलको सन्दर्भमा कुनै सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि हामीले सुनिश्चित गरेर लैजानुपर्छ । जुन एजेण्डा हामी अगाडि बढाउँदै छौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ । विशेष गरी पञ्चेश्वरदेखि केही महत्त्वपूर्ण परियोजनाका सन्दर्भमा यसको निर्माणको प्रक्रियामा ढिलाइ भयो भन्नेकुरा छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउने हामी प्रयत्न गरिरहेका छौँ । बनेको खण्डमा एसियाकै दोस्रो ठुलो थ्रि गर्जेजपछिको ठुलो प्रोजेक्ट भएको हुनाले यसमा ह्युज लगानीको पनि केही ठुलो आवश्यकता हुन्छ । त्यो लगानीका लागि पनि अलिकति समय लाग्छ । केही सानोतिनो टेक्निकल चिजहरू हाम्रो बीचमा छ, त्यसलाई पनि समाधान गरेर लैजाने बाटोमा छौँ, अन्य ठाउँमा पनि हाम्रा रोकिएका कुराहरूलाई निरन्तरता दिने पक्षमा छौँ ।
एयर ट्रान्जिटको कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका इस्युहरु भारतसँग छन्, ती कुरामा पनि छलफल गरेर हामी टुङ्गोमा पुग्ने प्रयत्नमा छौँ ।’ मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताउनुभयो । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा।प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।