कुनै पनि शासन व्यवस्थाका आ–आफ्नै किसिमका शासकीय गुण र दोष हुन्छन्। शासकीय व्यवस्थाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो बनाउन सक्नु पर्छ। देश र जनताप्रति समर्पित भएर मुलुकको विशेषतामा आधारित आर्थिक प्रगतिका विशिष्ट माध्यमको अध्ययन गरी कार्यान्वयन गरेर उत्कृष्ट समृद्धिको मोडेल विकास गर्नु पर्छ। त्यसरी आफ्नै मौलिक विशेषतामा विकास गरिएको मोडेललाई कार्यान्वयन गरी त्यस क्षेत्रमा देखिएका कमीकमजोरी निरन्तर हटाउँदै परिष्कृत मोडेल बनाई आर्थिक समृद्धि हासिल गर्न सक्नु पर्छ।
राष्ट्रिय अर्थतन्त्रको विकासमा सबै राजनीतिक दलले साझा अवधारणा बनाएर अगाडि बढ्ने नीतिलाई निरन्तरता दिनु पर्छ। विकासलाई सबैले साझा दायित्वका रूपमा अपनत्व कायम गर्न सक्ने वातावरण दलहरूले बनाउनु पर्छ। राजनीतिक र प्रशासनिक नेतृत्वले आर्थिक प्रगतिको मार्गमा देखिएका समस्या समाधान गर्दै एकीकृत भएर मेहनत र जिम्मेवारीका साथ कार्यशैलीमा व्यापक सुधार गरी देश र जनताप्रति उत्तरदायी बन्नु पर्छ। सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्ने दलले सामूहिक नेतृत्वलाई अङ्गीकार गर्नु पर्छ, एकल नेतृत्व अराजक र अधिनायकवादी हुन सक्छ। नेतृत्वको ध्यान सधैँ मुलुकको अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउन केन्द्रित हुनु पर्छ।
सही ढङ्गले आर्थिक सुधारलाई कार्यान्वयन गर्ने क्षमतावान् सुधारवादी नेताको नेतृत्व समृद्धिका लागि अपरिहार्य हुन्छ। नेतृत्वले सुधारवादी सोच तथा चिन्तनको विकास गर्दै मुलुकलाई समृद्धिमा अगाडि बढाउन आर्थिक प्रगतिका विशिष्ट माध्यमसहितको रणनीति तथा वैदेशिक आर्थिक कूटनीतिमा जोड दिनु पर्छ। नेतृत्वदायी राजनीतिक पार्टीले आर्थिक रूपमा उदीयमान मुलुकको नेतृत्व प्रदान गर्न सक्ने नेतृत्व विकास गर्दै पार्टीको विचार, नीति, रणनीति र संरचनामा सुधार गरेर कुशल नेता तथा कार्यकर्ताको निर्माण गर्नु पर्छ। परम्परागत सोच र चिन्तनबाट माथि उठेर आर्थिक सुधारको संवाहकका रूपमा नेता तथा कार्यकर्ता निर्माण गरी पार्टी नेतृत्वमा रहेको सरकारले अगाडि सारेका नीति तथा कार्यक्रम सफल बनाउन निरन्तर लागिरहनु पर्छ।
आर्थिक सुधार गर्न आर्थिक योजना कार्यान्वयन गर्ने सरकारले आवश्यक दक्ष मानव स्रोत तथा साधनको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्छ। सुधारसहितको आर्थिक रणनीतिलाई सफल बनाउन विकासलाई आर्थिक रणनीतिसँग जोड्न सक्नु पर्छ। आर्थिक रणनीति अन्तर्गत आन्तरिक तथा बाह्य बजारको स्पष्ट मार्गचित्र अगाडि सारेर बजारलाई सुनिश्चित गर्नु पर्छ। आर्थिक कूटनीतिक सम्बन्ध बलियो बनाई विश्व बजारमा आफ्नो उत्पादित वस्तु र सेवाको व्यापारलाई सहज बनाउनु पर्छ। गुणस्तरीय उत्पादनमा प्रतिबद्ध भएर दिगो व्यापार नीतिलाई अङ्गीकार गर्नु पर्छ।
उद्यमशीलतालाई प्रवर्धन गर्न दक्ष मानवीय शक्तिको विकास गरेर औद्योगीकरणको नीति अगाडि सार्दै कलकारखाना स्थापनामा जोड दिनु पर्छ। कानुनी रूपमा सुधार गरेर निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने रणनीति बनाउनु पर्छ। मुलुकलाई औद्योगिक क्रान्तिका रूपमा अगाडि बढाउन स्रोत र साधनका आधारमा विशिष्ट उत्पादन क्षेत्र निर्धारण गर्नु पर्छ। आवश्यकताका आधारमा निरन्तर रूपमा औद्योगिक ग्रामको स्थापना गरी मुलुकलाई औद्योगीकरणमा अगाडि बढाउँदै उद्यमशीलताको विकासमार्पmत व्यापक रोजगारी सिर्जना गर्नु पर्छ।
उच्च गुणस्तरीय निर्यातयोग्य वस्तु तथा सेवा उत्पादनलाई अभियानका रूपमा प्रोत्साहित गरी अर्थतन्त्रलाई व्रmमिक रूपमा बलियो बनाउँदै लैजानु पर्छ। कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई बढाउँदै लैजान राष्ट्रिय औद्योगिक विकास नीति, आफ्नै उत्पादनको उपयोग, आर्थिक कूटनीति विस्तार, मूल्य शृङ्खलामा आधारित औद्योगिक प्रवर्धन, बृहत् उत्पादन, भरपर्दो तथा सहज बजार आदिमा जोड दिनु पर्छ। बलियो अर्थतन्त्रको विकास गर्न प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने रणनीतिक योजना बनाई विश्व अर्थतन्त्रमा मुलुकको हिस्सा बढाउन सक्नु पर्छ।
आर्थिक सुधारका लागि कृषिप्रधान मुलुकले कृषि क्रान्तिको अभियानलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ। समुदायमा आधारित आधुनिक तथा व्यावसायिक कृषि प्रणालीमार्पmत उत्पादन बढाउने अभियानलाई कृषि क्रान्तिको आधार बनाउनु पर्छ। समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न सरकारले राज्यद्वारा सञ्चालित सरकारी कृषि फार्मिङ प्रणालीमा जोड दिँदै विभिन्न तहका सरकारले कृषि क्रान्तिको नेतृत्व गर्नु पर्छ। साथै कृषि सहकारीलाई कृषि क्रान्तिको आधार बनाई टोल टोलमा साना आकारका तीनदेखि पाँच जनासम्मले सञ्चालन गर्न सक्ने लघु सहकारीको अभियानलाई पनि आधार बनाउनु पर्छ।
औद्योगीकरणमा तीव्रता दिँदै हावापानी अनुसार विशेष आर्थिक क्षेत्रको व्यवस्थापन गरी निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनु पर्छ। त्यसै गरी कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने रणनीतिक योजना राज्यले अगाडि सार्दै कृषि क्षेत्रको आधुनिकीकरण, यन्त्रीकरण र व्यावसायीकरणमा राज्य र किसान हातेमालो गरेर अगाडि बढ्नु पर्छ। आर्थिक प्रगतिमा अग्रणी भूमिका निर्वाह गरिरहेका विकसित मुलुकले अवलम्बन गरेको आर्थिक नीतिको अध्ययन अनुसन्धान गरी आफ्नो मुलुकमा लागु गर्न सकिने नीति तथा कार्यक्रमलाई अनुकरण गर्ने सोचलाई निरन्तरता दिनु पर्छ। विकसित मुलुकले अवलम्बन गरेको आर्थिक प्रगतिको विशिष्ट माध्यमलाई आफ्नो देशको मौलिक विशेषतामा जोड्न सकियो भने मात्र लोभलाग्दो सफलता प्राप्त गर्न सकिन्छ। विद्यमान स्रोत र साधनलाई मौलिक विशेषताको एक महत्वपूर्ण आधार बनाउँदै निर्यात प्रवर्धन गर्न विशेष आर्थिक क्षेत्रलाई महत्वपूर्ण आधार बनाउनु पर्छ।
मुलुकको अर्थतन्त्र बलियो भए आर्थिक प्रगतिले समृद्धिलाई पछ्याउने हुँदा अर्थव्यवस्था मुलुकको माटो र हावापानी सुहाउँदो बनाउनु पर्छ। त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको राय सुझावलाई राज्यले ध्यान दिएर सही दिशानिर्देश गर्दै सहज अर्थतन्त्रको बाटो अवलम्बन गर्नु पर्छ। आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आयातमुखी अर्थतन्त्रलाई व्रmमिक रूपमा विस्थापित गर्दै निर्यातमुखी अर्थतन्त्रको रणनीति अङ्गीकार गर्नु पर्छ। आर्थिक प्रगतिका लागि पुँजी निर्माण र पुँजीबजार फराकिलो बनाउनु पर्छ। पुँजी निर्माणमा निजी, सार्वजनिक तथा सहकारीको भूमिका बलियो र विश्वसनीय बनाउन नीतिगत सुधार गर्दै पुँजीलाई आकर्षण गर्नु पर्छ। लगानीमैत्री वातावरण बनाउँदै उत्पादनमा पुँजीलाई जोड्नु पर्छ।
स्थानीय स्तरमा रहेका औद्योगिक ग्राम तथा घरेलु साना उद्योगमा रोजगारी सिर्जना गरी उत्पादनमूलक कार्यमा ग्रामीण जनशक्तिलाई रोजगारी दिने योजना अगाडि सार्नु पर्छ। कृषिको व्यावसायीकरण र ग्रामीण उद्योगको विकासले ग्रामीण जनताको आर्थिक अवस्था स्थानीय स्तरमा नै सुधार गर्नु पर्छ। श्रमजीवी वर्गको आर्थिक अवस्था सुधार्दै श्रमिकलाई व्रmमिक रूपमा औद्योगिक क्षेत्रमा लगानी बढाउने वातावरण बनाई औद्योगिक मालिक बनाउने रणनीतिक अभियान चलाउनु पर्छ। त्यसले साना घरेलु उद्योग हुँदै ठुला उद्योगको विकास गर्न स्थानीय जनतालाई सक्षम बनाउन सकिन्छ। आर्थिक विकास र समृद्धिका आधारभूमि ग्रामीण क्षेत्रलाई बनाउँदै मुलुकलाई आर्थिक रूपान्तरण गर्ने अभियानमा लाग्नु पर्छ।
राज्यले भौतिक पूर्वाधारमा लगानी बढाउँदै यातायातको सञ्जाललाई भरपर्दो बनाएर लगानीमैत्री वातावरण बनाउनु पर्छ। बहुराष्ट्रिय कम्पनीहरूमार्फत प्रत्यक्ष वैदेशिक लगानी बढाई नवीनतम प्रविधि भित्र्याउँदै औद्योगीकरणको अभियानलाई प्रोत्साहित गर्नु पर्छ। विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रको नाताले विश्व व्यापारबाट लाभ लिन बजार सञ्जाललाई राम्रोसँग जोडेर निर्यात बढाउन सफल हुनु पर्छ। औद्योगीकरणमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन र राष्ट्रिय पुँजीलाई संवर्धन गर्न अनुकूल वातावरण बनाउनु पर्छ। आर्थिक वृद्धिदर उच्च बनाउन औद्योगिक क्षेत्र र सेवा क्षेत्र दुवैलाई महत्वपूर्ण आधार स्तम्भ बनाएर अर्थतन्त्रलाई चलयमान बनाउनु पर्छ।
आर्थिक विकासका लागि नवीन प्रविधिको उपयोग र खोजले मात्र अरूसँग प्रतिस्पर्धा गर्न र अरूलाई उछिन्न सकिने भएको हुँदा नयाँ नयाँ प्रविधि प्रयोग गरेर प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्नु पर्छ। विश्वमा विकास भएका नवीन प्रविधि भित्र्याउन र नयाँ प्रविधिको अनुसन्धान एवं आविष्कारलाई प्रोत्साहन गर्न राज्यले लगानी बढाउँदै प्राविधिक क्षेत्रमा नयाँ नयाँ आयाम थप्ने रणनीतिक योजना अगाडि सार्नु पर्छ। आर्थिक प्रगतिको मूल बाधक भनेको भ्रष्टाचार र आर्थिक अनियमिता भएकाले त्यसको विरुद्ध कडाभन्दा कडा कानुनको व्यवस्था गरी नियन्त्रणमा ल्याउनु पर्छ।
सुशासन, जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासनलाई बलियो बनाउँदै मुलुकलाई आर्थिक प्रगतिको बाटोमा अगाडि बढाउनु पर्छ। आर्थिक विकास तीव्र गतिमा गर्न राज्य शक्ति सर्वाधिक बलियो हुनुका साथै आमजनतामा पनि आर्थिक प्रगतिका लागि दृढ र बलियो इच्छाशक्ति आवश्यक पर्छ। स्वार्थका कारण आर्थिक विकास र समृद्धि ओझेलमा पर्नुका साथै विभिन्न देशी तथा विदेशी शक्ति प्रत्यक्ष तथा अप्रत्पक्ष रूपमा हस्तक्षेप गर्न सफल हुने गर्दछन्।
आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र शान्ति आधारभूत तत्व हुन्। राजनीतिक अस्थिरताको अवस्थामा नै राजनीतिक, आर्थिक तथा सामाजिकलगायत हरेक क्षेत्रमा विकृति र विसङ्गति मौलाउने गर्दछ। सुशासन र कानुनी राज्यको अवधारणा अनुसार विधि र पद्धतिमा मुलुक चलायमान र अभ्यस्त बन्न सकेको खण्डमा नै आर्थिक प्रगतिले गति लिन सक्छ। आर्थिक प्रगतिका विशिष्ट माध्यमलाई समाजको तल्लो तहबाट नै कार्यान्वयन गर्दै विकसित मुलुकमा रूपान्तरण गर्ने नीति तथा कार्यक्रम अगाडि सार्नु पर्छ।
लेखक अर्थविद् हुनुहुन्छ।