• १५ वैशाख २०८१, शनिबार

कृषक पलायन भएपछि रित्तिँदै कृषि फर्म

blog

बेनी नगरपालिका १ रत्नेचौर स्थित भुवानेको रित्तो भैंसीपालन फर्म । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ १५ गते । बेनी नगरपालिका –१ रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा  दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो । एक वर्ष यता गोठ रित्तो छ । करिब दुई करोड रुपियाँ लगानी गरेर भैंसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनिल श्रेष्ठको गोठ पनि रित्तो छ । 

भुवानेका ७–८ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गर्नुभएको थियो । श्रेष्ठले निर्माण गरेको पूर्वाधार यतिखेर अलपत्र छ । भैंसीपालन व्यवसायबाट जग्गाको भाडा समेत भुक्तानी गर्न नसकेपछि श्रेष्ठले व्यवसाय नै छाड्नुभयो । 

त्यस्तै, बेनी नगरपालिका –६ चुत्रेनीका कृष्णबहादुर मल्लको बाख्रा फर्म पनि यतिखेर रित्तो छ । बोयर जातको बाख्रापालन गर्दै आउनुभएका मल्लको खोरमा ६ महिना पहिला पुग्दा गोठमा लोभलाग्दा बाख्रा थिए । वैदेशिक रोजगारीलाई छाडेर गाउँमै बाख्रापालन गर्नुभएका मल्लले जिल्लामा नमुना कृषकका रूपमा पहिचान बनाउनुभएको थियो । मल्ल अहिले रोजगारीको क्रममा फ्रान्स पुग्नुभएको छ । 

श्रेष्ठ र मल्ल दुवैजनाले विदेशमा सिकेको सीप र आर्जनगरेको पुँजीलाई कृषि क्षेत्रमा लगानी गरेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसाय थाल्नुभएको थियो । दुवैजना जिल्लामा नमुना कृषकका रूपमा चिनिनुभएको थियो । 

तर कृषि पेसामा उहाँहरू टिक्न सक्नु भएन । कोरोना महामारी, कृषि अनुदानमा विभेद, बजारको समस्या, उत्पादित वस्तुको कम मूल्य, र दुःख गरेअनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा कृषि व्यवसाय गर्नेहरू पेसाबाट पलायन हुँदै जान थालेका हुन् । 

‘दुःख गरेअनुसार आम्दानी हुन सकेन, सरकारी निकायबाट पनि प्रोत्साहनमूलक कार्यक्रम आएन । धेरै परिश्रम गर्दा पनि लगानी अनुसारको प्रतिफल प्राप्त गर्न कठिन भयो’ फ्रान्स पुग्नुभएका मल्लले भन्नुभयो, ‘पशुपालन पेसा छाड्न मन त थिएन तर बाध्यताले छाडे, दुःख लागेको छ ।’

यस्तै, पुर्ख्यौली पेसालाई निरन्तरता दिनुभएका धौलागिरि गाउँपालिका –५ मल्कबाङका हिमबहादुर छन्त्यालले पनि पेसा छाड्नुभएको छ । उहाँले वर्षौँदेखि भेडापालन गर्दै आउनुभएको थियो । छन्त्यालका करिब ६०० हारहारीमा भेडाबाख्रा थिए । 

रत्नेचौरकै दिनेश रावलले पनि भैंसीपालन व्यवसाय छाड्ने तरखरमा हुनुहुन्छ । कोरोना महामारीका कारण सहरबाट गाउँ फर्किएर भैंसीपालन थाल्नुभएका रावल फेरि विदेश जाने सोचमा हुनुहुन्छ । 

फर्म बन्द गरेर श्रेष्ठ बागलुङ बजार फर्किनुभएको छ । मल्लले पुनः वैदेशिक रोजगारी रोज्नुभएको छ । श्रेष्ठ र मल्ल प्रतिनिधि पात्र हुनुहुन्छ । पछिल्लो समय कृषि पेसालाई निरन्तरता दिन नसक्दा पेसा नै छाड्नेहरूको सङ्ख्या बढ्न थालेको छ । व्यावसायिक पशुपालन र कृषि पेसा गरेका किसानहरू पेसाबाट पलायन हुनेक्रम बढेको बेनी नगरपालिका १ रत्नेचौरका पूर्व वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । 

पशुपालनका लागि आवश्यक पर्ने घाँसको अभाव, कामदार नपाइने र सरकारी अनुदान पाउन झन्झटीलो प्रक्रियाका कारण पेसाबाट पलायन हुनेक्रम बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कृषि पेसामा टिकिराख्न निरन्तर रूपमा परिश्रम र ठुलो सङ्घर्ष गर्नुपर्छ । तत्काल धेरै पैसा कमाउने सोच राखेर कृषि पेसामा आएका युवाहरू सोचेजस्तो आम्दानी नभएपछि बीचमै छाड्न थालेका छन् ।’’

विश्वव्यापी फैलिएको कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका युवाहरू स्वदेश फर्किएर पशुपालन व्यवसाय थालेका थिए । भेटेरिनरी अस्पताल तथा पुस सेवा विज्ञकेन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले भन्नुभयो, ‘‘अहिले वैदेशिक रोजगारी खुलेको छ । पशुपालनबाट कमाउनेभन्दा विदेशमा कमाउने धेरै हुन्छ । पशुपालन र कृषि पेसाबाट कमाउन कठिन हुन्छ । धेरै परिश्रम गर्नुपर्ने हुन्छ । परिश्रम गरेअनुसारको प्रतिफल हुँदैन । त्यसैले पशुपालनमा आबद्ध भएका युवाहरू फेरि वैदेशिक रोजगारीका लागि जान थालेका हुन ।’’

युवाहरूमा वैदेशिक रोजगारीप्रति आकर्षण बढ्नु पनि पेसाबाट पलायन हुने मुख्य कारण भएको उहाँले बताउनुभयो । पशुपालनका लागि आवश्यक पर्ने दाना, चोकरलगायतको मूल्य वृद्धि हुनु र त्यही अनुपातमा उत्पादित वस्तुको बजारमूल्य कायम नहुनु पनि पेसाबाट पलायन हुने कारण बनेको उहाँको भनाइ छ । पेसाबाट पलायन हुनेहरूको तथ्याङ्क कार्यालयसँग नभए पनि वैदेशिक रोजगारीका कारण पेसा छाड्नेहरूको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।