• ६ वैशाख २०८१, बिहिबार

सगरमाथा आरोहणको ७० वर्षगाँठ मनाइँदै (फोटो फिचर)

blog

काठमाडौं, जेठ १५ गते । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । 

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले जनाएको छ ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार आज बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिएको छ ।  ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवम् सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । “सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई पहिलोपटक पदकसहित सम्मान गर्दैछौँ”, उहाँले भन्नुभयो ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।