• १३ वैशाख २०८१, बिहिबार

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

राष्ट्रहित केन्द्रित छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई विज्ञको सुझाव

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’।

काठमाडौं, जेठ १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्र र विभिन्न राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री प्रचण्डले आइतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग सुझाव लिनुभएको हो। 

आफूले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग भारत भ्रमणबारे सुझाव लिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। उहाँले सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘भारत भ्रमणको बारेमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, सबै दलका नेताहरु, विज्ञको सुझाव लिनेक्रम चलिराखेको छ। मैले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीको सुझाव सुनेँ। अरुको सुझाव आउँदै छ। सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनुभएको छ।’’  

छलफलको क्रममा नेताहरुले भने राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए। प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरेर अघि बढनुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो। उहाँले त्यसमा दुई मुलुकबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुनेगरी छलफल गर्नुपर्ने बताउनुभयो। 

पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘‘हाम्रा सीमा समस्या छन्। व्यापार पारवहनका समस्या छन्। खुला सिमानाका समस्या छन्। यी सबैलाई एकमुष्ट समाधान गर्नका निम्ति मेरो पालामा सुरु भएको इपीजी र पछि केपी ओलीजीको पालामा गठन भएको त्यसको प्रतिवेदन ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ। के कारणले त्यो रोकिएको हो ? यो चाहिँ बुझ्दा र खुलाउँदा राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले दिएको छु।’’

राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्व परराष्ट्रमन्त्री एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो। उहाँले इपिजी प्रतिवेदन बुझने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो। 

ज्ञवालीले भन्नुभयो, ‘‘नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा त्यसमा प्रमुख प्रतिपक्ष दलको हिसाबले हाम्रो पूर्ण समर्थन रहन्छ। अरु कुराहरुमा हाम्रा पक्षविपक्ष होलान तर बाह्य सम्बन्धमा, परराष्ट्र नीतिहरुमा सबै दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ।’’

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभयो। उहाँले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मासम्मानमा चोट नपुर्‍याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिइएको बताउनुभयो। उहाँले आपसी हितका विषयमा कुरा गरेर विश्वासको वातावरण सिर्जना गर्न पनि आफूले प्रधानमन्त्रीलाई परामर्श दिएको बताउनुभयो। 

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई मुलुकबीचको सिमा विवाद समाधान हुने गरी तथ्यसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताउनुभयो। उहाँले विगतमा गरिएका समझदारी कार्यान्वयनको विषयमा पनि छलफलमा जोड दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड  जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ।