गोविन्द शर्मा
बाँके, जेठ १४ गते । नेपालगञ्ज उप-महानगरपालिकाले समयमै पहिचान गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि उप–महानगरपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लगायतका विभिन्न अस्पतालका चिकित्सकसँगको सहयोगमा वडा वडामा निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो ।
चालु आवमा नगरका ९ वटा वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने योजना अनुसार हालसम्म ५ वटा वडामा शिविर सम्पन्न भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । वडा नम्बर ९, १२, १७, १९ र २० मा हालसम्म शिविर सञ्चालन गरिएकोमा २६ जनामा क्यान्सर पोजेटिभ देखिएको हो ।
नेपालगञ्जका वडा नम्बर २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गरिने तय गरिएको छ । शिविरमा महिलाहरूमा पाठेघर खस्ने समस्याको समेत पहिचान गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दले क्यान्सर ‘पोजेटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताउनुभयो । चन्दले भन्नुभयो, "क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने हुन्छ, जसबाट समयमै पहिचान भई उपचारपछि निको हुन सहज हुन्छ ।"