सुजल श्रेष्ठ
प्युठान, पुस २ गते । नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतकाे सहरी विकास तथा भवन कार्यालय दाङ मार्फत करिब ६ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का लागेर काम अघि बढ्न लागेको हो ।
दुई वटा प्याकेजमा सडकको ठेक्का लागेको कार्यालय प्रमुख इन्जिनियर इश्वरी प्रसाद देवकोटाले जानकारी दिनुभयो । दम्ती–धाईरे सहरी विकासतर्फ भ्याटसहित चार करोड १५ लाख चार हजार ५०९ रुपियाँ र धाईरे–अधेरी सडकको सहरी पूर्वाधार विकास तर्फ भ्याटसहित चार करोड २९ लाख ८१ हजार ९१९ रुपियाँमा ठेक्का लागेको उहाँले जानकारी दिनुभयो । दुवै ठेक्काको म्याद आगामी असार १ गतेसम्मको रहेको छ ।
सोमबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती–धाईरे–अधेरी सडक खण्डको शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने काम अघि बढ्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभएको छ । “दम्ती अधेरी कच्ची सडक पिच गर्न प्रतिबद्धता जनाएको थिए,” उहाँले भन्नुभयो,“अहिले यो बाटोमा आवश्यक बजेट विनियोजन भएको छ ।” दुई खण्डमा निर्माण थालिने उक्त सडकको ठेक्का लागिसकेको छ । मन्त्री थापाले बाहाने–स्याउलिवाङ खण्डमा समपुरक योजना अन्र्तगत ४२ करोड रुपियाँको काम भइरहेको बताउनुभयो ।
सडक स्तरोन्नतीको काम सयममै सक्ने निर्माण कम्पनी हरियाली–एसियाली–एडभान्स जेभीका प्रतिनिधि शोभाराम न्यौपानेले बताउनुभयो । राज्यले ग्रामीण सडक स्तरोन्नतीका लागि छुट्याएको बजेटलाई समयमै काम गरेर कार्यान्वय गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।