• १३ वैशाख २०८१, बिहिबार

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौं, जेठ १४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ। 

आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेस गर्दैछ। 

अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताउनुभयो। बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उहाँको भनाइ थियो। कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताउनुभयो। उहाँले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताउनुभयो। 

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिङ्ग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौँ। कार्यान्वयन अत्यन्तै महत्त्वपूर्ण विषय हो। जतिसुकै राम्रा कुराहरू भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौँ भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यकता छ ? त्यसलाई हामी महत्त्व दिन्छौँ।’’

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराउनुभयो।