• ८ पुस २०८१, सोमबार

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : सभामुख मण्डल

blog

कार्यक्रममा सभामुख रामचन्द्र मण्डलले सहभागीलाई सम्मानित गर्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ १४ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म भएको बताउनुभएको छ । जनकपुरधाममा आइतबार मानव सेवा आश्रम जनकपुरधाम शाखाको पहिलो वार्षिकोत्सव समारोहमा उहाँले सो धारणा राख्नुभएको हो । 

समाजमा रहेका विभिन्न किसिमका खण्डहरु, विभिन्न समुदायका कारण पनि कहिलेकाहीँ हाम्रो मानवता कतै ओझेलमा पर्नेगरेको भन्दै हरेक खण्ड वा समुदायभन्दा पहिले हामी मानव भएको कुरा बुझनु पर्ने उहाँको भनाइ छ । मानव सेवा आश्रमले सडक आश्रित बन्न पुगेकाहरूका लागि गरिरहेको कामकाजको प्रशंसा गर्दै सभामुख मण्डलले मानवको समृद्धिप्रति मधेश सरकार गम्भीर रहेको बताउनुभयो । 

अब आउने नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गर्न उहाँले मधेस प्रदेश सरकारलाई सुझाव दिनुभयो । भवनको अभावमा आश्रमले झेल्नुपरेको समस्याप्रति चर्चा गर्नुहुँदै सभामुख मण्डलले जग्गा र भवन निमार्णका लागि स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ऐन केन्द्रमै अल्झिएकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो । सरकारको अगामी नीति तथा कार्यक्रममा मानव सेवा आश्रमको विषयलाई प्राथमिकताका साथ राखिने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले मधेश प्रदेशको विकासमा गुठी संस्थान बाधक बनिरहेको आरोप लगाउनुभयो । गुठीसम्बन्धी ऐन ल्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । 

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली सेनाका पृतनापति प्रेमध्वज अधिकारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवसहितकाले मानव सेवाको विषयमा आफ्नो धारणा राख्नुभयो ।  कार्यक्रममा मानव सेवा आश्रम जनकपुरधामलाई सहयोग गरेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो । मानव सेवा आश्रम जनकपुरधाममा अहिले ४८ जनाले सेवा लिइरहेको कार्यक्रममा जानकारी दिइएको छ ।