• ४ जेठ २०८१, शुक्रबार

‘लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो’

blog

प्रथम राष्ट्रपति डा रामवरण यादव। तस्बिर : केशब गुरुङ

जनता देशका मालिक हुन् । यसको लामो इतिहास छ । गणतन्त्रको उपलब्धि के हो भने जनता सार्वभौम भएका छन् । हाम्रो देशको भने सात दशक लामो सङ्घर्ष छ, आठ दशक भनौँ । त्यसको उपलब्धिमा जनताका प्रतिनिधिले आफैँले संविधान लेखेर देशको लोकतन्त्रको मूल बाटो बनाएका छन् । संविधान सभाबाट गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी, धर्म निरपेक्षतासहितको जुन संविधान  बनेको छ यसले सम्पूर्ण देशवासीलाई समेटेको छ । 

हाम्रो भूगोलमा हिमाल, पहाड, तराई र विविधता छ । हाम्रो समाजको विविधता पनि त्यसै अनुसारको नै छ । सबैको प्रतिनिधित्व गर्दै ६०१ जनाको दुई दुई चोटि बनेको संविधान सभामार्फत संविधान बनेको छ, त्यसलाई अहिले सम्पूर्ण देशवासीले स्वीकार गरेका छन् । देशलाई अलग गर्न चाहने शक्तिहरू पनि आएका छन् । 

हतियार उठाएको समूह पनि आएको छ । जाति, धर्म र क्षेत्रका नाममा राजनीति गर्नेहरू पनि यस संविधानमा समाहित छन् । त्यसले गर्दा गणतन्त्रको सबभन्दा ठुलो उपलब्धि के हो भने यो ठुलो जहाजमा सबैले एकै ठाउँमा बसेर यात्रा गरिरहेका छन् । देशका लागि यो सुखद पक्ष हो । 

हामीले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरेका थियौँ । सङ्घर्षको लामो दौरानमा राजनीतिमा लाग्दै गर्दा इतिहासले मलाई त्यस्तो अप्ठ्यारो समयमा सर्वोच्च पदमा आसीन हुने अवसर दियो । त्यसबेला राजनीतिक दलहरूलाई ‘कोर्डिनेट’ गर्र्दै, दुई/दुई वटा संविधान सभाबाट संविधान बनाइयो । मैले २०१७ साल आफैँले हेरेको थिएँ । हामी विद्यार्थी  थियौँ । २०१७ सालपछि जनताले भोगेको, दुःख पाएको, ठुलो बलिदानी गरेका मानिसहरूले र आफ्नो ज्यान र धन गुमाएर नेपाली जनताले बलिदानी गरेका थिए । 

२०४६ सालमा लागेको थियो कि अब राजनीतिको राजमार्ग बनिसक्यो । तर २०५२ सालदेखि फेरि हतियारको राजनीति सुरु भयो । सांसद भए, मन्त्री भए । बडो आनन्द थियो । तर साढे तीन वर्ष पुग्दा न पुग्दै फेरि अस्थिरता सुरु भयो । २०५२ देखि २०५९ सम्म राजाले फेरि २०१७ साल जस्तो हस्तक्षेप गरे । चार पाँच वर्ष जेलनेल पुनः सुरु भयो । माओवादी सशस्त्र द्वन्द्वका बेलामा रगतको खोलो बगिरहेको थियो । ती सबैलाई व्यवस्थापन गर्दै बृहत् शान्ति प्रक्रिया , हतियारको व्यवस्थापन तथा राजनीतिक दलहरूलाई लिएर चुनाव भयो, जसमा ८० प्रतिशत जनताको सहभागिता रह्यो । उत्साहपूर्वक आएर संविधान बन्यो । संविधान बनाउने जिम्मा संविधान सभाको भए पनि जनतासामु पस्किने जिम्मा मैले पाएको थिएँ । गङ्गालाल, दशरथ चन्द्र धर्मभक्तहरू कसरी फाँसीमा चढे ? यी कुरा शीतलनिवासबाट निस्कँदा दिमागमा आउँथ्यो ।  

संविधानलाई घोषणा गरेर म ‘रिटायर’ भएँ। जनताको बलिदानीको लामो सङ्घर्षलाई सम्झेर भावुक पनि भएँ। लोकतन्त्रको मन्दिरबाट मैले प्रसाद दिइरहेको छु भन्ने मेरा लागि सुखद पक्ष थियो। 

जनताको अपेक्षाअनुसार अहिले काम भइरहेको छैन। तर संसारको इतिहास हेर्दा यसरी नै लडीबुडी खेल्दै नै अगाडि बढेको देखिन्छ। संविधान त आइसकेको छ, अब यसलाई लागु गर्नेको क्षमतामा भर पर्छ। संविधान कस्तो बन्यो ? त्यो ‘इम्पोर्टेन्ट’ छैन। यो जस्तो संसारको उत्तम संविधान अन्त छैन होला। 

संयुक्त राज्य अमेरिकाको संविधानलाई राम्रो भनिन्छ तर त्यसमा पनि २८/२९ पटक संशोधन भइसक्यो। भारतको संविधानमा १२८/२९ पटक संशोधन भइसक्यो। 

यस संविधानलाई देश र जनताको ‘निड’ अनुसार सुधार गर्दै लागु गर्दै गइयो भने देश अगाडि बढ्छ। संविधान घोषणापछि हामीले एक ‘पिरियड’ पार ग-यौँ। अर्को ‘पिरियड’ मा हामी भर्खर गएका छौँ। अहिले तीन तहको सरकार छ। ‘स्मुथ्ली’ चुनाव भएर ‘ह्यान्ड ओभर’ भइरहेको अवस्था छ। जनताले आफ्नो घरदैलोमा एउटा सरकार पाएको छ। धेरै विकृति पनि छन्। महिलाले चालिस प्रतिशत प्रतिनिधित्व गरिरहेका छन्। दलित, जनजाति, मधेशी, मुस्लिम सबै समावेश भइरहेका छन्। यो सुखद पक्ष हो। स्थानीय तहमा मात्र तिस हजारभन्दा बढी प्रतिनिधित्व छ। सबै ‘सेक्टर’ को प्रतिनिधित्व भएको छ।

मुलुकमा कसरी सुशासन दिने, पारदर्शी बनाउने, मितव्ययी बनाउने ? यी सबै काम राजनीतिक दल र नेतृत्वको हो। चुनावमा विकृति छ। यसलाई कसरी कम गर्ने ? हामीले समावेशीकरणको नीतिबाट जुन आशा गरेका थियौँ, त्यसमा विकृति छ। किनबेच भइरहेको छ। यी विकृतिहरूलाई कसरी सुधार्ने ? सुन्छु एउटा गाउँपालिकाको चुनावमा करोडौँ रुपियाँ खर्च हुन्छ। यसलाई कसरी सुधार्ने ? लोकतन्त्रको यो विकृत पक्ष हो। लोकतन्त्रको विकल्प फेरि 

लोकतन्त्र नै हो। यसको प्रयोग हाम्रै मुलुकमा भइसकेको छ। विकृतिहरूलाई हामीले सच्याएर जानुपर्छ। यसतर्फ राजनीतिक नेतृत्व र राजनीतिक दलको ध्यान जानुपर्छ।

(प्रथम राष्ट्रपति डा रामवरण यादवसँग गोरखापत्रका भउचप्रसाद यादव र दिनेश लुइँटेलले गर्नुभएको कुराकानीमा आधारित।)