अविनाश चौधरी
धनगढी, जेठ १३ गते । कैलालीको ग्रामीण क्षेत्रका महिलाले उद्योग सञ्चालन गरिरहेका छन् । ५० लाख रुपियाँभन्दा बढी लगानीमा महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका हुन् । कैलारी गाउँपालिका –५ सडकपुरमा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारी संस्थामार्फत महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका छन् ।
उद्योगबाट उत्पादित वस्तुको जिल्लाभरि निर्यात गरिने सहकारीका अध्यक्ष हीरा चौधरीले बताउनुभयो । “लामो समयको प्रयासपछि हामीले यो उद्योग सञ्चालन गर्न सफल भएका हौँ” उहाँले भन्नुभयो । उद्योग सञ्चालनका लागि कैलारी गाउँपालिकाको कार्यालयले २८ लाख र प्रदेश सरकारले चार लाख रुपियाँ बजेट सहयोग गरेको छ । बाँकी लगानी सहकारी आबद्ध महिलाको रहेको महिलाको भनाइ छ ।
उद्योगको उद्घाटन गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले महिलाले सञ्चालन गरेको उद्योग सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो उद्योगलाई पालिकाको ब्राण्ड बनाउने दाबी गर्नुभयो ।
उद्योग सञ्चालनका लागि २०७४ बाट प्रक्रिया थालिएको थियो । उद्योगले उत्पादन सुरु गरिसकेको छ । पछिल्लो समय खाद्य वस्तुमा मिसावट रहने गरेकाले गुणस्तरमा विशेष ध्यान दिन कैलारी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो ।