जीवछ यादव
लहान, जेठ १२ गते। लहानमा रहेका विभिन्न लघुवित्त संस्थाबाट किस्तामा ऋण लिएका महिलाले चर्को ब्याज लिएको भन्दै संस्थामा तालाबन्दी गर्न सुरु गरेका छन्। तालाबन्दी गर्ने क्रममा आक्रोशित समूहका महिला र प्रहरीबीच झडपको अवस्थासमेत देखिएको छ। महिला समूहले सिरहाको गोलबजार नगरपालिकाको चोहर्वा र लहानमा तालाबन्दी अभियान सुरु गरेका हुन्।
तालाबन्दी गर्न पुगेका महिलाले नव सामन्ती लघुवित्तले सामूहिक ऋण मिनहा हुनुपर्ने, क्षमताको आधारमा कामदामको व्यवस्था गर्नुपर्ने, गरिब किसानलाई सहुलियत दरमा ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने र ऋणको किस्ता लिन गएका कर्मचारीले महिलामाथि गरेको हिंसा र दमन बन्द गर्नुपर्ने माग राख्दै तालाबन्दी सुरु गरेका हुन्।
सुरुमा गाउँ गाउँमा समूह बनाएर ऋण प्रवाह भएको। तर २४ प्रतिशतसम्मको ब्याज तिर्न नसक्दा हिंसा सहनुपर्ने भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन्।
समस्या समाधान नभए काठमाडौंसम्म पैदल यात्रा गरेर प्रधानमन्त्री कार्यालय जाने तयारीमा लागेको लघुवित्त ज्यादतीविरुद्ध मधेश प्रदेश संघर्ष समितिका उपाध्यक्ष निर्मलाकुमारी महतोले जानकारी दिनुभयो।