• १४ मंसिर २०८१, शुक्रबार

जुरे पहिरोपीडितलाई रकम वितरण

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ १२ गते । विसं २०७१ साउन १७ को भीषण पहिरोबाट प्रभावित बाह्रबिसे नगरपालिका–९, राम्चेका जुरे पहिरो प्रभावितलाई दाताबाट प्राप्त सहयोग रकम वितरण गरिएको छ। 

पहिरो गएको नौ वर्षपछि बिहीबार बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले राम्चेका पहिरो प्रभावित ७० परिवारलाई सहयोग रकमबापतको चेक हस्तान्तरण गर्नुभएको हो।  

जुरे पहिरोमा राम्चेका आठ जनाको मृत्यु, पहिरोले १२ घर पुरिएको र २७ घर डुबानमा परेको थियो। ८६ जना प्रभावित भएका थिए।

आठ मृतकका परिवारले पाउने एक लाख ६० हजार र १६ जना प्रभावितले पाउने ११ लाख ७६ हजार ७८२ रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी रहेको बाह्रबिसे नगरपालिकाले जनाएको छ। 

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, बिमरेनी जेठ ९ गते पुगेर जुरे पहिरो प्रभावितका लागि सवा दुई करोड रुपियाँ सहयोग रकम बराबरको कागजात बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत, बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङ र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरालाई हस्तान्तरण गर्नुभएको थियो। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जेठ ९ देखि गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ का ८१ परिवारलाई सहयोग रकमबापतको ५३ लाख ६६ हजार ५२३ रुपियाँ वितरण गर्दै आउनुभएको छ। 

जुरे पहिरोबाट बाह्रबिसे, बलेफी र त्रिपुरासुन्दरीका १४२ जनाले ज्यान गुमाएका थिए। उक्त पहिरोबाट २८० परिवार प्रभावित भएका थिए। पहिरोबाट प्रभावित बलेफी–८ को ओरियन्ट म्याग्नेसाइट, कल्लेरी, कोलेनी र जुरे पहिरो प्रभावित क्षेत्रमा आश्रय लिई बस्दै आएका छन्। पहिरो प्रभावितको सहयोगका लागि उक्त समयमा दुई करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ ८५ पैसा सङ्कलन भएको थियो।