• ७ पुस २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, जेठ ११ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

बिहीबार नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भनाइ व्यक्त गर्नुभयो । देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने उहाँको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ ।’’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । उहाँले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताउनुभयो ।

‘‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’’

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने बताउनुभयो ।