• १५ चैत २०८०, बिहिबार

खुश्बुको उपचार वीरमा, अझै रोग पत्ता लागेन

blog

अज्ञात रोगबाट थलिएकी खुश्बु चौधरी । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ ११ गते । कैलालीको घोडाघोडी नगरपालिका –७ करैचाका खुश्बु चौधरी एक वर्षदेखि अज्ञात रोगका कारण थला पर्नुभएको छ । विवाहित २२ वर्षीया खुश्बुको एकाएक खुट्टामा पानीको फोका उठ्ने फुट्ने र घाउ फैलँदै जानथालेपछि दुवै खुट्टा काम नगर्ने अवस्थामा पुगेको छ ।

एक्कासी सानो फोकाबाट शुरु भएको घाउ फोका फैलँदै फुट्दै खुट्टाको तिघ्रासम्म फैलिएको खुश्बु बताउनुहुन्छ  । उपचारका लागि स्थानीय अस्पतालदेखि नेपालगञ्ज अस्पतालसम्म पुग्दा पनि खुश्बुको रोग पत्ता लाग्न नसकेपछि उहाँको उपचार वीर अस्पतालमा सुरु भएको हो ।  

माइतीकै सहयोगमा उपचार गराइरहनुभएका खुश्बुको आमा सीतारानी चौधरीले भन्नुभयो, “दुई छोरा एक छोरी हो, कसैलाई पनि यस्तो रोग लागेको छैन, छोरीलाई के भयो पत्तै लाग्दैन । औषधी गर्दागर्दै पैसा सकियो ।”

घोडाघोडी –४ सिमथरी गाउँमा २०७२ मा रमेश चौधरीसँग विवाह गरेकी खुश्बुका श्रीमान्  भारतमा कमाएर परिवार पाल्ने गर्नुहुन्थ्यो । श्रीमती थला परेपछि उहाँको साँझ बिहानको छाक टार्ने काम पनि बन्दभयो । श्रीमतीको उपचारमा समस्या आएपछि रमेशले थलापरेकी श्रीमतीलाई माइतीको जिम्मा लगाउँदै कमाउन भारत गएको बताउनुभयो ।

केही महिना काम गरेर थोरै पैसा लिएर नेपाल आउनुभएका रमेशले खुश्बुलाई थप उपचारका लागि नेपालगन्ज लग्नुभयो । खुश्बुको उपचार नेपालगञ्जमा पनि सम्भव भएन । नेपालगञ्जबाट काठमाडौं लैजाने सुझाव चिकित्सकले दिएपछि खुश्बुको उपचारमा समस्या आएको श्रीमान् रमेश चौधरीले बताउनुभयो ।

स्थानीय युवा नेता खगेन्द्र हमालको पहलमा अहिले खुश्बुको उपचार वीर अस्पतालमा भइरहेको छ । नेता हमालले खुश्बुको उपचारका लागि स्थानीय सरकारसँग पहल गर्दा कुनै सहयोग नपाएपछि आफै काठमाडौं गएर गृहमन्त्री, प्रधानमन्त्रीसँग कुरा गरेर वीर अस्पतालमा निःशुल्क उपचार गर्ने वातावरण बनाएको जानकारी दिनुभयो ।  

खुश्बुको उपचारका लागि कृष्ण कँडेल सञ्चालक रहेको इन्द्रेणी फाउन्डेसन र अन्य सहयोगीबाट एक लाख ५८ हजार सहयोग जुटेको छ । अहिले खुश्बुको सबै परीक्षण निःशुल्क हुनेगरी वीर अस्पतालमा  भर्ना गरिएको नेता हमालले बताउनुभयो । 

खुश्बुका श्रीमान् रमेशले निःशुल्क भने पनि मङ्गलबार सिटीस्कानका लागि चार हजार एकसय रुपियाँ तिरेको बताउनुभयो । उहाँले रिर्पोट आउन अझै दुईदिन लाग्ने स्वास्थ्यकर्मीबाट जानकारी पाएको बताउनुभयो ।