काठमाडौं, जेठ १० गते। राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्यकर्मीमाथि भएको अपमानजनक व्यवहारको विरोध गरेको छ। महासङ्घले बुधबार विज्ञप्ति निकाल्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्समाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने भएको क्रियाकलापको विरोध गरेको हो।
महासङ्घले दुई घटनामा पीडित नर्स तथा स्वास्थ्यकर्मीको पक्षमा भएको आन्दोलनलाई समर्थन जनाउँदै दुवै घटनामाथि तुरुन्त छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
क्यान्सर अस्पताल भरतपुरमा एक बिरामीको उपचारमा सहयोग गरेको दाबी गर्ने गिभिना मगरले त्यहाँ कार्यरत नर्स र नर्सिङ पेसाप्रति नै आँच आउने गरी सामाजिक क्रियाकलाप गरेको भन्दै नर्स आन्दोलनरत छन्। उनीहरूले मंगलबार र बुधबार माइतीघर मण्डलामासमेत गएर प्रदर्शन गरेका छन्।
यस्तै उदयपुरमा आफूलाई सञ्चारकर्मी दाबी गर्दै एक व्यक्तिले त्यहाँ कार्यरत सिनियर अहेवमाथि केरकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सङ्घले यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोबल र सुरक्षामा असर पुग्ने उल्लेख गरेको छ।
यस्तै सङ्घले कर्मचारी समायोजनमा स्वास्थ्यकर्मीको समायोजन अवैज्ञानिक र अव्यवस्थित भएर हालसम्म पनि पूर्ण समायोजन भएर नसकेको उल्लेख गर्दै यसलाई दीर्घकालीन सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
उसले अधिकांश स्थानीय तहमा स्वास्थ्यकर्मीले नियमित रूपमा तलब भत्ता नपाएको भन्दै रोकिएको तलब भत्ता तुरुन्त पठाउने व्यवस्था गर्न र समस्याको दीर्घकालीन समाधानको माग सङ्घले गरेको छ।