• ७ पुस २०८१, आइतबार

प्रतिनिधि सभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

blog

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद चन्द्रकान्त भण्डारी । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १० गते। ग्यास जलनबाट घाइते भएर लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। 

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गर्नुभयो। 

गत पुस ३ गते ग्यास जलनबाट घाइते भई भारतमा उपचार गराएर फर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गर्नुभयो। 

उहाँले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताउनुभयो। उहाँले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिनुभयो। यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्याङ्क पेस गर्नुभयो। 

उहाँले भन्नुभयो, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो। के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ। ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिनुभयो। आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एसियाको सबैभन्दा उत्कृष्ट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो। उहाँले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताउनुभयो। 


हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उहाँले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गर्नुभयो। 

उहाँले  खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न  र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद रघुवीर महासेठले जनतालाई विकास र प्रतिबद्धता चाहिएको बताउनुभयो। उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा विदेश गएर षड्यन्त्र गरिरहेको भन्ने सुनिएकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो। 

सांसद महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिनुभयो। उहाँले बन्द अवस्थामा रहेका वीरगन्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पनि सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो। 

सांसद रामकुमार राईले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा चालेको कदमले जनतामा एक प्रकारको उत्साह पैदा गरेकाले अझै प्रभावकारी रूपमा गैरकानुनी सम्पत्ति आर्जन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।  रासस