काठमाडौं, जेठ १० गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले भ्रष्टाचारी र अपराधीलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताउनुभएको हो।
प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताउनुभयो। उहाँले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गर्नुभयो। ट्रेड युनियनकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो।
उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्री वितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। सांसद शाहीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। यो ट्रेड युनियन भन्ने छ नि। यसलाई खारेज गरिदिनुस्। यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ। लगानीकर्ताको लगानी सुरक्षित गर्ने ग्यारेन्टी गरिदिनुस्। प्राकृतिक स्रोतको प्रयोग गर्नुस्। जस्तो रुख एउटा काट्यो भने दुइटा लगाउने व्यवस्था गर्नुस्। जडीबुटी किसानलाई उत्पादन गर्न दिनुस्। अनि, विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाहिँ घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन। लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्ने, विदेशी मदिरा रोक्ने कानुन बनाउनुस्। तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ। यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेमजस्तो नबनाऔँ। भ्रष्टाचारी, अपराधलाई कानुनी कारबाही गरौँ। यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौँ। यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ। सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’’
प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जडीबुटीको उत्पादन तथा बिक्री वितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो।