• १३ असार २०८१, बिहिबार

प्राथमिकतामा प्रदेशको संस्थागत विकास

बजेटको सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस

blog

बागमती प्रदेशको प्रदेश सभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेस गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङ। तस्बिर : राममणि

राममणि दाहाल

हेटौँडा, जेठ ९ गते। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेस गर्दै मन्त्री तामाङले वर्तमान सरकारमाथि प्रदेशको आर्थिक–सामाजिक विकास र शासन व्यवस्था सुदृढीकरणका कार्य तीव्रताका साथ अगाडि बढाउने जिम्मेवारी प्राप्त भएको बताउनुभयो। 

दिगो विकासका लक्ष्य हासिल गर्ने, रोजगारी  सिर्जना गर्ने,  प्रभाकारी सेवा प्रवाह गर्ने, सार्वजनिक खर्चलाई पुँजी निर्माणमा केन्द्रित गर्ने, साधारण खर्च कटौती गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाउने र विकास आयोजना तोकिएको समयमा पूरा गर्ने चुनौती हाम्रोमाझ रहेको बताउनुभयो।

उहाँले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकातामा प्रदेशको संस्थागत विकास र सबलीकरण रहेको भन्दै भौतिक पूर्वाधार, कृषि, रोजगारी सिर्जना र पर्यटनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। मन्त्री तामाङले आगामी आर्थिक वर्षमा सार्वजनिक सेवा प्रवाह, आर्थिक पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा प्रदेश सरकारले लगानी वृद्धि गर्ने बताउनुभयो। 

मन्त्री लामाले प्रदेश सभामा पेस गर्नुभएको विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने बैठकमा छलफल गरिने छ।