• ८ वैशाख २०८१, शनिबार

पोखरामा बाेलाइएकाे मुख्यमन्त्रीहरुको भेला स्थगित

blog

गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय

पोखरा समाचारदाता

पोखरा, ९ जेठ गते । पोखरामा बिहीबार हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित भएको छ । गण्डकी प्रदेश सरकारले सो भेलाको तयारी गरिरहँदा अन्तिम समयमा मंगलबार सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । 

जसका कारण पोखरा आउँदै गरेका कतिपय मुख्यमन्त्रीहरू बीच बाटोबाटै फर्किनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण भेला स्थगित गर्नुपरेको जानकारी दिनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने भनिएको सो भेलाको तयारीका लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको थियो । पोखराको बिरौटास्थित पाँचतारे होटल पोखरा ग्राण्डमा भेला हुने तयारी थियो ।

प्रधानमन्त्रीको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीहरू सङ्घ सरकारबाट अधिकार माग्न पोखरामा भेला हुन लागेका थिए । सङ्घीयतालाई स्थायित्व दिन र सङ्घीय संरचनामाथि प्रश्न गर्नेहरूलाई व्यवहारबाट जवाफ दिन मुख्यमन्त्रीहरूले पोखराबाट साझा धारणा सार्वजनिक गर्ने कार्यक्रम थियो । सो भेलामा सम्बन्धित प्रदेशका प्रमुख सचिवहरू पनि उपस्थिति हुने कार्यक्रम थियो ।

यसअघि पोखरामै पृथ्वीसुव्वा गुरुङको पालामा मुख्यमन्त्रीहरूको भेला भएको थियो ।