• १५ वैशाख २०८१, शनिबार

नगर स्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार

blog

राजकुमार भट्टराई

खोटाङ, जेठ ९ गते । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई नगद दुई लाख पुरस्कार प्रदान गरिने भएको छ। गत चैत ९-१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो । 

कक्षा ६-९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा सरस्वती मावि अर्खौले (१.०७ जिपिए) सहित प्रथम भएको छ । प्रथम हुने सरस्वती माविले दुई लाख पुरस्कार पाउने  नगरपालिकाले जनाएको छ ।  

कालिका मावि बाहुनीडाँडा (०.९० जिपिए) सहित दोस्रो र बुलापन्थे मावि धितुङ (०.८४ जिपिए) सहित तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुने माविलाई पचास हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।  

यस्तै, कक्षा ४-५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा खोक्सेली आवि बडहरे (२.२४ जिपिए) प्रथम, बोझेओडार आवि बडहरे (२.२१ जिपिए) दोस्रो र जनचेतना आवि बाहुनीडाँडा (२.०८ जिपिए) ल्याएर तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमशः ५०, २० र १० हजार नगद पुरस्कार पाउने छन् । 

कक्षा ६-८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा डिकुवा आवि डिकुवा (१.३४ जिपिए) प्रथम, शान्ति आवि बडहरे (१ं.२७ जिपिए) दोस्रो र हिमगंगा आवि राजापानी (१.२६ जिपिए) सहित तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमशः ५५, २५ र १५ हजार नगद पुरस्कार पाउने छन् । कक्षा ४–९ सम्मको वार्षिक परीक्षा नगरपालिकाले (एसइई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जिपिए ल्याएर प्रथम हुनुभएको छ । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी (३.४४ जिपिए), कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई (३.२९ जिपिए) कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल (३.०३ जिपिए), कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेश दाहाल (३.११ जिपिए) र कक्षा ९ मा महेन्द्रोदय मावि महादेवस्थानका दया राई (३.२१ जिपिए) ल्याएर प्रथम हुनुभएको छ । कक्षागत प्रथम हुने सबैले जनही १० हजार नगद पुरस्कार पाउने छन् । 

केहीसमयपछि नगरपालिकाले कार्यक्रमको आयोजना गरेर विद्यालय तथा विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । 

(एसइई) मोडलमा परीक्षा हुँदा सबै विद्यालयको कमजोर नतिजा

विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि भन्दै नगरको मातहतमा (एसइई) मोडलमा चैत ९–१६ गतेसम्म नगर स्तरीय परीक्षा सञ्चालन भएको थियो । नगरपालिका भरिका ७० वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर फरक विद्यालयका प्रधानाध्यापकलाई केन्द्र अध्यक्ष बनाएर परीक्षा सञ्चालन भएको थियो । प्रश्न पत्र तयार गर्ने र उत्तर पुस्तिका परीक्षण पनि नगरपालिकाकै मातहतमा भएको थियो । यसरी कक्षा ४–९ सम्मको परीक्षा (एसइई) मोडलमा सञ्चालन गर्दा अधिकांश विद्यार्थीको कमजोर नतिजा आएको छ । 

सामुदायिक विद्यालयको शिक्षाको वास्तविकता कस्तो छ भनेर नतिजाले प्रष्ट पारेको नगरपालिकाका मेयर विमला राईको भनाइ छ । प्राय कार्यालयहरूले आफ्नो कमजोरीलाई लुकाउने भएपनि हलेसी तुवाचुङ नगरपालिकाले वास्तविकता बाहिर ल्याएको र अब यसलाई सुधार्ने रणनीति बुन्ने मेयर राईले बताउनुभयो । शैक्षिक सुधारको आवश्यक कदम आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरिने उहाँको भनाइ छ ।    

"नगर स्तरीय परीक्षा सञ्चालन गर्दैगर्दा नतिजा पक्कै कमजोर आउँछ भन्ने सोचेका थियौँ, तर हामीले सोचेको भन्दा धेरै कमजोर आयो । अन्य पालिकाले, कार्यालयले आफ्नो कमजोरी देखाउन चाहँदैनन्, तर हाम्रो अवस्था यो छ भनेर देखायौँ, अब सुधार गर्ने योजना तयार गर्छौँ । यो नतिजाले शैक्षिक सुधारमा केके गर्न सकिन्छ भनेर नीति तथा योजना बनाउन सहयोग पुगेको छ," मेयर राईले भन्नुभयो ।

जीर्ण भवन भएका विद्यालयको नयाँ भवन निर्माण, शिक्षकलाई प्रविधिसँग जोड्ने तथा आफ्नो कर्तव्य बोझ गराउने, शिक्षकलाई आवश्यक तालिम प्रदान साथै अभिभाकलाई पनि आफ्नो भूमिकाको महसुस गराउने गरी शिक्षाका कार्यक्रम ल्याउने मेयर राईको भनाइ छ । आगामी आर्थिक वर्षको बजेट निर्माणमा शैक्षिक सुधारका लागि के कस्ता कार्यक्रम तयार गर्ने विषयमा विज्ञसँग छलफलसमेत गरिने उहाँले सुनाउनुभयो ।