• ७ वैशाख २०८१, शुक्रबार

समय साक्षी

blog

जीवनका भोगाइ ज्ञान र अनुभवका पत्रैपत्र हुन् । मानिसले ती भोगाइलाई आफूमै सीमित राख्दा ऊसँगै ती विलिन हुन्छन् । हाम्रा पुर्खाका कतिपय अमूल्य ज्ञान र अनुभव त्यसैगरी पुर्खासँगै विलन भए । यात्रा आफैँमा अनुभव र भोगाइ हो । त्यसको सङ्ग्रह र सूत्रीकरण पत्रहरू अरूहरूका निम्ति मीठो ज्ञान र आनन्दको साथी बन्छन् अनि आफ्नै निम्ति विगतको संस्थागत सम्झना । त्यसैले यात्रा र अनुभवलाई मानिसले कृतिमा रूपान्तरण गर्ने गर्छन् । यात्रानुभव साहित्यको समकालीन संसारमा विस्तारित विधाका रूपमा आयाम बढाउँदैै छ । नेपाली साहित्यमा त यो विधाको क्षितिज हिजोभन्दा झनै फराकिलो हुँदै छ । पत्रकार एवं साहित्यकार बबिता बस्नेतको समय साक्षी यात्रा अनुभव र भोगाइ संस्मरणको नवीनतम कृति पाठक सामु आएको छ ।

विषयसूची नै यात्रा क्रम राखिएको यो कृतिमा झन्डै एक सय पु¥याउन खोजिएका ससाना यात्रानुभव समेटिएको छ । पत्रकारितासँगै सामाजिक अभियन्ताका रूपमा विश्वका दर्जनाँै देश र सहरका कथा र अनुभव छन् यहाँ । अनेकौँ सम्मेलनमा सहभागिताले बौद्धिक पाठकलाई आकर्षित गर्छ । बैठकका अनुभव छन् अनि सुन्दर दृश्यका मखमली वर्णन । यीलगायत अनेकौँ अनुभवका पत्र छन् समय साक्षीमा । 

पुस्तक सुरु हुन्छ, पासपोर्टको कथाबाट । देशबाहिर जान चाहिने  पासपोर्ट अर्थात् राहदानीबाटै उहाँले समय साक्षीको श्रीगणेश गर्नुभएको छ । साढे दुई दशकअघि महिलाको निम्ति राहदानी सहज कुरा थिएन । अभिभावकले सिफारिस गरेपछि मात्र पाइन्थ्यो । अभिभावक गाउँमा भएकालाई यो सहज थिएन र अनेक गरेर लिनुभयो राहदानी । त्यो सङ्घर्ष नै थियो ।  उहाँ जस्ताहरूको सङ्घर्षकै प्रतिफल हुनुपर्छ, अहिले महिलालाई राहदानी लिन अभिभावकले नै सिफारिस अनिवार्य छैन । त्यो विगत भोगाइ समग्रमा आन्दोलन थियो । नयाँ पुस्ताका महिला त्यो पीडामा छैनन् तर पुरुष, महिला वा अरू कसैलाई राहदानी लिने झन्झटिलो तनाव अहिले पनि कम छैन । सामान्य सेवालाई राज्यले सहजीकरण गर्न सकेको छैन ।

पासपोर्टको कथाबाट सुरु भएको संस्मरण भारतीय जनसञ्चार संस्थान (आईआईएमसी)को प्रशिक्षण हुँदै अगाडि बढ्छ । त्यस क्रममा अमृता प्रितमसँगको भेटले अर्को शीर्षक दिएको छ । त्यही क्रममा हरिद्वारमा स्व. काकासँगको संवाद, कहाँ राजपरिवारको नातेदार हुनु ? राजपरिवारसँगको सम्बन्ध, राजकीय भ्रमणमा जाँदा आदि शीर्षकले उहाँका व्यावसायिक जीवनमा आरम्भिक दिनहरूलाई झल्काएको छ । कृतिका आरम्भमा देश र विदेशका अनुभव मिसिएका छन् । राजा ज्ञानेन्द्रको शासनकाल र त्यसपछिका अनुभव छन् । त्यस क्रममा राजासँग वन टु वन भेटले बेग्लै महìव राख्छ । भारत भ्रमणमा जाँदा युवराज आएनन्को दोहोरो अर्थ राखेको रमाइलो पक्ष छ ।

उहाँको सामाजिक अभियन्ताको परिवेश भने फिलिपिन्समा  चाँदनी जोशीसितको भेटपछि अझ चम्किलो हुन्छ । यो अलग्गै शीर्षकसँगै  विदेशमा तालिम लिएर फर्कंदा रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट हात धुनु परेको भोगाइ छ । पर्यवेक्षकलाई कसरी भेट्नुहुन्छ ? ले श्रोताको चाखलाई विम्बित गर्छ । सिङ्गापुरमा देखियो सपनामा देखेको ठाउँ, सार्सले जुराएको चीन भ्रमणलगायत चीनका अनेकौँ अनुभवले केही शीर्षक लिएका छन् । भ्रमणका क्रममा नेपाली सहकर्मीहरूको पात्र र चरित्र, अनुभव रमाइला छन् । मसिना कुरा पनि मिलाएर संस्मरणले इतिहास निर्माण गरेको देखिन्छ ।

पहिलो पल्ट संयुक्त राष्ट्र सङ्घमा कृतिको बेग्लै अनुभवको पाटो हो । न्युयोर्कका रेस्टुरेन्टमा पोखिएका फ्रस्ट्रेसनले  प्रवासी नेपाली पीडा बोलेको छ । अमेरिकामा पनि यस्तो हुन्छ र अनि ट्रेनमा भएको सकसले विकसित देशमा प्रविधि र विद्युत्बिना कसरी जनजीवन कठिन हुन्छ ? भन्ने देखिएको छ । यसै सेरोफेरोमा अमेरिकी अनुभवले धेरैवटा शीर्षकहरू लिएका छन् । अनेक पटक अमेरिका पुग्दाका निजी र सार्वजनिक जीवनका अनभुव छन् । पेन्टागनको भ्रमणदेखि ‘लबी विलिसेसले, टिप्स जङ्गबहादुरले ?’  शीर्षकले इतिहासलाई रमाइलो प्रस्तुति दिइएको छ ।

 यात्रानुभवकै क्रममा अफ्रिकी मुलुकहरूका भ्रमणका अनुभव कठिन र बेग्लै छन् । तिनमा मानव जातिको पीडा र शोषणसमेत अभिव्यक्त छ । यात्राका क्रममा विमानले सुटकेस छुटाएको असजिलोदेखि यात्रा सुरक्षा, बेग्लै संस्कृति र वेशभूषाले पारेका प्रभाव कृतिमा जोडिएका छन् ।

‘दिल्ली दूर नही’ भनेझैँ पुस्तकमा भारतीय सहरका अनुभव ठाउँठाउँमा छन् तर अलग अलग विषयवस्तुले मिठास थपेको छ  । माओवादी द्वन्द्व तथा आसपासका बेला भारतमा भएका अनेक बैठक, सभासम्मेलन सहभागिताका परिघटना छन् र तीमध्यै एकमा उहाँलाई किन बोलाइयो ? भन्ने रोचक प्रश्न र उत्तरका अनभुवले नेपाली राजनीतिक पात्रको मनोवृत्ति झल्किएको छ । त्यसैगरी श्रीलङ्का, बङ्गालादेश, पाकिस्तान लगायतका अनेक सहरमा भएका बैठक, सभासम्मेलनका अनुभवले राजनीति, संस्कृति र समाज अध्ययनलाई समृद्ध बनाएको छ ।

पुस्तकमा एसिया र युरोपेली देशका विकासका अनेक चरणका समृद्धका आयामहरू समेटिएका छन् । तर देशको समृद्धि ठुल्ठूला भवन र धनी मानिसमा मात्र केन्द्रित हुँदैनन् । सामान्य सुविधाले समेत देशको संस्कृतिको पहिचान दिइरहेको हुन्छ । त्यसै क्रममा  कोरियाको एउटा अनुभवमा भनिएको छ– 

 कोरियाको राजधानी सियोलस्थित इन्चेन एयरपोर्टमा झरेपछि इमिग्रेसनतर्फ लाग्दै गर्दा इमिग्रेसन फर्महरू राखिएको ठाउँमा आँखा प¥यो । फर्मसँगै डोरीमा बाँधेर विभिन्न पावरका चस्मा पनि राखिएका थिए । सादा सेतो रङका ती चस्माका पावर माइनस, प्लस के हुन्  र कति हुन् भन्ने पनि स्पष्ट खुलाइएको थियो । प्रायः अन्य मुलुकमा फर्मसँगै लेख्नका लागि डोरीमा  बाँधेर कलमचाहिँ  राखिएका हुन्छन् । हाम्रो मुुलुकमा चाहिँ त्यही कलम पनि राखिएको  हुँदैन... (पृष्ठ ९२) । 

युरोप अनेक सहरका अनुभवसँगै नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्वका अनुभवका अनेक विस्तारित आयामले पुस्तकलाई भरिलो बनाएको छ । युरोमा पुगेका नेपालीको कथा नेपालमा जति नराम्रो भयो हामीलाई त्यति राम्रो शीर्षकसमेत छ । त्यसमा बेल्जियमको ब्रसेल्समा रहेका नेपाली शरणार्थीको विषय मार्मिक छ । अनेक बहानाले युरोप पुगेका नेपाली शरणार्थी बन्ने गरेका छन् । खास गरी माओवादी द्वन्द्वका बेला बेल्जियममा रहेका शरणार्थी क्याम्पमा जाडोका बेला लगाउने सामान्य ज्याकेटबिना नै नेपाली बसेका थिए । 

अन्त्यमा यात्राका पश्चातापहरूमा २० भाटले दिएको दुःख, त्यो भोको अनुहार आँखालगायत मन हल्का बनाउन लेखिएको विषयवस्तुजस्तो देखिन्छ । पुस्तका कतिपय शीर्षक अति सङ्क्षिप्त छन्, तिनलाई केही विस्तार र खँदिलो बनाउन सकिने भए पनि लामो नहोस् भन्ने लेखकीय मनशाय देखिन्छ ।

विषयवस्तुमा व्यक्ति, सहर, व्यवहार आदिले प्रशस्त  ठाउँ पाएका छन् । त्यो राम्रो हो तर सँगसँगै अन्तर्राष्ट्रिय सभासम्मेलन तथा बैठकमा नेपाली प्रतिनिधित्व गरेको हिसाबले नेपालमा तिनको प्रभाव समीक्षासमेत भइदिएको भए पाठकले खुराकसमेत पाउने थिए । हुन त थप कृतिहरूमा त्यस्तो समीक्षासमेत आउन सक्ने ठाउँ छ । भाषा सरल छ तर कतिपय नेपालीकृत गर्न सक्ने विषयहरू अङ्ग्रेजीमा देखिएको छन् । 

कृति: समय साक्षी 

विधा: यात्रा संस्मरण

लेखक: बबिता बस्नेत

प्रकाशक: बुक हिल

प्रकाशन: २०७९ 

पृष्ठ: ११६

मूल्य: रु. ५००।–  

Author

जुनारबाबु बस्नेत