• १२ मंसिर २०८१, बुधबार
blog

विराट् काव्य प्रतिभाका धनी नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको कवितामा मूल रूपमा देश, प्रेम, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एवं विद्रोहको क्रान्ति चेतना र युग बोधको प्रबल भावना व्याप्त भएको पाइन्छ। युगकवि श्रेष्ठका अनुसार “उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछार–पछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ। भइरहेको सामाजिक विकृति र विसङ्गतिलाई पनि कलापूर्ण ढङ्गले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ।

कवि सिद्धिचरणका बारेमा विद्वान् साहित्यकार गाविन्द भट्टले सही मूल्याङ्कन यस प्रकार गरेका छन्, “सिद्धिचरणले राष्ट्र भाषामा रचना गर्दै र नेपालभित्रका सम्पूर्ण जाति वा समुदायबाट बनेको नेपाली जनताको सर्वाङ्गीण हित कल्याणका लागि चिन्तनशील रहँदै व्यापक राष्ट्रिय व्यक्तित्व प्राप्त गर्नुभयो र उहाँ मुलुकभित्र र बाहिरका सम्पूर्ण नेपालीका सम्माननीय एवं प्रिय युगकवि हुन पुग्नुभयो।” नेपाली साहित्यका यशस्वी प्रतिभा कवि सिद्धिचरण श्रेष्ठले स्वच्छन्दतावादी भावनाबाट नै आफ्नो काव्ययात्रा प्रारम्भ गर्नुभयो तर पछि नेपालीका पीडा व्यथाले उहाँलाई युगबोध गराएर कविलाई सामाजिक, राजनीतिक चेतनातर्फ उन्मुख गरायो, शनेः शनैः सचेतता र प्रवर्धता प्रदान गर्दै गयो। 

कवि सिद्धिचरणमा क्रान्तिकारी  र विद्रोही भावना पनि उफ्रन थाल्यो र उहाँ ओजस्वी कविता लेख्न थाल्नुभयो, यत्र–तत्र ज्वालामुखी भएर नै फुट्न थाल्नुभयो। ई १९६६ मा पेइचिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा उहाँले जुन उल्लेखनीय मन्तव्य दिनुभएको थियो, त्यो ऐतिहासिक बनेको छ, “साहित्यकारले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण सङ्घर्षलाई आड, समर्थन दिनु पर्छ, ठुला शक्तिशाली मुलुक तथा साम्राज्यवादी, उपनिवेशवादीबाट हुने अतिव्रmमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनु पर्दछ। आफ्ना सुन्दर रचनाबाट जनमानसलाई जागृत तुल्याउनु पर्दछ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो।”

आजको सन्दर्भमा पनि युगकवि श्रेष्ठले आफ्नो कविता र आफ्नो मन्तव्यबाट प्रदान गरेको सन्देश महत्वपूर्ण, सटिक, प्रेरणादायी र दिशा निर्देशकका रूपमा रहेका छन्। मानवीय हितको संरक्षण र मानवीयताको कल्याणमा सहयोग गर्ने दायित्व साहित्यको हो। साहित्य सिर्जनामा सामाजिक दायित्वको पक्ष प्रबल हुने गर्दछ। यसमा विश्व–बन्धुत्वको भावना मुखरित हुने गर्दछ र विश्व बन्धुत्वको भावनालाई बलियो बनाउनका लागि पराधीनता, निरङ्कुशता, शोषण र अत्याचारका विरुद्ध स्वतन्त्रता, समानता र प्रजातान्त्रिक भावनालाई सुदृढ गर्ने दायित्वपूर्ण कार्य साहित्यले गर्दै आएको छ। 

विश्वका महानतम् साहित्यिक रचनामा हामी यस प्रवृत्तिलाई देख्न सक्दछौँ। अन्याय, असमानता र पराधीनताका विरुद्ध सम्पूर्ण जनतालाई सचेतता प्रदान गर्ने काम सचेत, जिम्मेवार साहित्यकार वर्गको हो। नेपालको १०४ वर्ष लामो राणा शासनको व्रmूर पञ्जाबाट नेपाली जनतालाई मुक्त गर्ने कार्यमा नेपाली साहित्यकारको ठुलो भूमिका अविस्मरणीय रहेको छ। २००७ सालको पूर्वसन्ध्यामा कवि सिद्धिचरण श्रेष्ठले ओजस्वी शङ्खनाद गर्दै भन्नुभएको थियो–

“मानिस तैले उड्नै पर्छ

दुःख र सङ्कट भोग्नै पर्छ

युगको उर्दी माने पो ता

मानिस यो मानिस बन्छ।”


नेपालमा प्रजातन्त्र ल्याउनका निमित्त खट्दा सर्वस्वहरण भएको र छ वर्ष जेलमा बसेको चेतनशील अग्रणी कवि सिद्धिचरणले “नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु” भनेर सम्पूर्ण नेपालीमा जन–जागरणका लहर व्याप्त गर्नुभयो र देशका भावी कर्णधार युवाशक्तिलाई उद्बोधित गर्दै यसरी प्रोत्साहित गर्नुभयो–

“अघि सर, अघि सर, साहस जोड 

काँतरपन ली प्राण नछोड

पाइन बलको अब देखाऊ

वैरीलाई मार भगाउ

चम्क युवक। अब चम्क न चम्क!”


सङ्कट मानिसमाथि नै आउँछ। त्यस सङ्कटबाट भाग्ने होइन बरु सङ्घर्षका निम्ति तयार रहनु पर्छ भन्ने जोशिलो भावनालाई प्रबोधित गर्दै कवि भन्नुहुन्छ– 

“सङ्कट पर्दछ मानिसलाई 

ढुङ्गालाई के पर्छ”

“रोइ रोई बाँच्न पुग्यो अब हाँसी–हाँसी मर्न सिकूँ 

रुखमा झुन्डिनुलाई डोरी गरम ओठले चुम्न सकूँ।”


देशलाई मार्गदर्शन दिने व्रmममा र राणाकालीन अत्याचारलाई समाप्त गर्ने दिशामा लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ मा जुन जागरण सन्देश छ, देवकोटाको ‘पहाडी पुकार’, ‘झन्झा वर्णन’ जस्ता रचनाहरूमा नेपाली जनमानसमा प्रजातन्त्रको निम्ति सङ्घर्षका तीव्र शङ्खनाद कवि सिद्धिचरणका कविताहरूमा गुञ्जायमान भएर सम्पूर्ण नेपालीलाई उत्प्रेरित गरेको छु ।

“तातो तातो रगत रिपुको प्युन हर्दम तयार 

मेरो प्रिय खुकुरी यो हेर भै होशियार।”


स्मरणीय छ कि कवि सिद्धिचरणका काव्यात्मक अभिव्यक्ति सामाजिक राजनीतिक सन्दर्भबाट नै जन्मिएको छ । देशमा व्याप्त तत्कालीन राजनीतिक गतिविधिले उहाँको कवि व्यक्तित्वलाई झक्झक्याएको छ ।

“बाटो मेरो छेकिरहेको अजङ्गको साँढेलाई 

लौरो लिइकन दूर लघारे मैले कविता लेखेँ।”


आफ्नो अनेकानेक कृतिको माध्यमबाट कविले सामाजिक समस्या, देशीय समस्या, युगीन भावना अभिव्यक्त गरेर समाजमा सजगता र चेतना व्याप्त गर्नुभयो र समस्या समाधानका दिशामा पथ–प्रदर्शन गर्नुभयो । लोकपथगामी कवि श्रेष्ठले विसं १९६६ मा नै आफ्नो जीवनको उद्देश्य सार्वजनिक गर्दै आफ्नो मनका भावनालाई यसरी व्यक्त गर्नुभएको छ :


“सुखसागरमा लय भई आखिर

गर्ने जीवन सुन्दर सुन्दर

छ यही मेरो मनको इच्छा

भित्र बनूँ कवि बहिर योद्धा।”


देशको तत्कालीन अन्योलको बेलामा जनतालाई जागरण सन्देश दिँदै र अलमल्ल बन्न पुगेका शारदाकालीन साहित्यकारलाई हौसला प्रदान गर्दै कवि सिद्धिचरण श्रेष्ठले भन्नुभएको थियो, “खोजेको प्रजातन्त्र हामीले पाइसकेका छौँ । अब कुनै पनि साहित्यकारलाई कल्पना एवं सपनाको लोकमा पूर्ववत् गुडुल्किएर बस्न र पुरानै राग अलाप्न सुहाउँदैन । यथार्थको धरातललाई छेक्न आउनु र आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा नयाँ आस्था अनुरूप सांस्कृतिक परिवर्तन ल्याउन सक्ने साहित्य लेख्नु हामी सबैको साझा कर्तव्य हो ।”

सन्दर्भ २००७ सालको क्रान्तिको होस् अथवा त्यसपछिका सामाजिक, सांस्कृतिक, राजनीतिक व्रmान्तिका लागि उहाँका विद्रोही भावना त्यत्तिकै समर्थवान्, ओजस्वी र प्रेरणादायी रहेको छ । सामाजिक विसङ्गतिप्रति सचेत उनका व्रmान्तिकारी भावना आज पनि हाम्रो रगत तातो गर्नका लागि त्यत्तिकै प्रेरणादायी र प्रभावशाली छन् । र, हाम्रो हृदयलाई झङ्कृत गर्नमा समर्थ छन् ।


“हिमालको माथि चढी विगुल म फुक्छु 

अन्याय यो सधैँ सधैँ हुन्न म यो भन्छु।”


कविको अनुसार वर्ण, जाति, धर्म आदिका नाममा भेदभाव गर्नु हाम्रो हृदयको सङ्कीर्णता हो। समानताको भावनालाई समाजमा व्याप्त गर्दै कविले प्रखर स्वरमा भन्नुभएको छ –


“एकै पृथ्वीका सन्तान

हामीमा केही भेद छैन 

तिमी मेरो, म तिम्रो।”


यसरी देशमा एकता र समानता ल्याउने प्रयास तथ देश निर्माण र देशमा शान्ति सुरक्षाका लागि आह्वान कविका रचनाहरूमा प्रचुर मात्रामा व्याप्त छन्। देशभक्तिले ओतप्रोत कविका यी शब्द सम्पूर्ण देशवासीका लागि प्रेरणाका अजस्र स्रोत बन्न पुगेको छ।


क्यारुँ म क्यारुँ यो देशको निम्ति क्यारुँ 

नाचूँ कि गाऊँ कि गला मिलाउँ

सहर्ष काटी शिर नै चढाउँ

या श्वास जम्मै यसमै मिसाऊ”


कवि सिद्धिचरणले एउटा असल कवि योद्धाका रूपमा क्रान्तिकारी  र ओजस्वी कविता लेखेर जनतालाई सदैव प्रेरित गरिरहनुभयो र आज पनि उहाँका कविताले समाजमा ओज र उत्साह प्रदान गरिरहेका छन्। ध्यान दिने विषय यो छ कि एउटा सुधारवादी देशभक्त कविका रूपमा उहाँका कविताको प्रासङ्गिकता आज पनि त्यत्तिकै महत्वपूर्ण छ। कविलाई अत्यन्त दुःख छ कि असीम त्याग, बलिदान र सङ्घर्षबाट ल्याएको प्रजातन्त्रको उचित अर्थ र मूल्य–मान्यता आज हराइरहेको छ। देशको भविष्यप्रति चिन्तित 

कवि श्रेष्ठ भन्नुहुन्छ–

“युग बदलिसक्यो

राणा ढलिसक्यो

भन्दछ जन्जिर टुटिसक्यो

अझ पनि आजादी आएको छैन 

प्रगति आएको छैन

प्रजातन्त्र आएको छैन”


दूरदर्शी युगकवि सिद्धिचरणले भन्नुभयो – युगले कोल्टो फेरेको भए पनि हाम्रो देशमा आजसम्म शान्ति व्याप्त भएको छैन, प्रगतिको बाटोमा कुहिरो लागेको छ। हाम्रो सुनौलो भविष्यलाई बादलले ढाकेको छ। हाम्रो देशरूपी आमा आज पनि प्रतिपल शान्ति, सुरक्षा, असल स्वतन्त्रता र दिगो प्रजातन्त्र आगमनको प्रतीक्षामा आतुर व्याकुल देखिन्छन्। आज राजनीतिक सामाजिक विभेदका कारण देशमा जुन अशान्ति, अव्यवस्था व्याप्त भएको छ, त्यस सन्दर्भमा हेर्दा युकवि सिद्धिचरणका कविता आजका वर्तमान समयमा पनि त्यत्तिकै मननीय, सार्थक र सान्दर्भिक देखिन्छ। स्मरणीय छ कि एउटा कलमको बलमा मात्र साहित्यिक व्रmान्तिका शङ्खनाद गरेर उहाँले शान्ति, सुव्यवस्थाको कामनामा आफ्नो सम्पूर्ण जीवन न्यौछाबर गर्नुभयो र असल युगकवि भएर युग युगका लागि प्रेरणाको सन्देश दिनुभयो। उहाँका सम्पूर्ण जीवन शान्ति र विश्वबन्धुत्वका लागि समर्पित भयो। शान्तिका पक्षधर कवि सिद्धिचरणका हार्दिक अभिलाषा थियो –


“कविता रच्दै शान्ति फिजाऊँ 

प्राण–प्राणमा प्रेम जगाऔँ।”

सङ्क्षेपमा युगकवि सिद्धिचरण श्रेष्ठ (विसं १९६९–२०४९) का कविताले सबल राष्ट्रियताको शङ्खनाद गरेको छ, अन्याय, शोषण र अत्याचारविरुद्ध सङ्घर्षका लागि आह्वान गरेको छ। मानिसलाई कर्म गर्ने प्रेरणा दिएको छ। मानवताविरोधी तत्वहरूलाई समाप्त गरेर विश्वमा शान्ति फिजाउने सन्देश दिएको छ साथै विश्व–बन्धुत्व र मानवतावादका चर्काे स्वरले विगुल फुकेको छ। नेपाली वाङ्मय क्षितिजका ज्योतिस्तम्भ, शान्तिका पुजारी, प्रजातन्त्र, समानता, स्वतन्त्रता र मानवताका उद्घोषक कविवर सिद्धिचरण श्रेष्ठमा हार्दिक श्रद्धाञ्जली।

लेखक बरिष्ठ समालोचक हुनुहुन्छ।